काठमाडौं-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिम्पियाधुरासहितको नक्सा जारी गरेको भए भारतले नेपाली भूमिमा सडक खन्दैनथ्याे भन्ने कुरा गलत भएको बताएका छन्।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सीमा विवादबारे आइतबार भएको छलफलमा जवाफ दिँदै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्। ‘नक्सा सार्वजनिक गरेको भए अहिलेका समस्या आउँदैनथे, सार्वजनिक नभएकाले आयो भन्ने होइन,’ मन्त्री ज्ञवालीले भने, ‘लिपुलेकसम्मको नक्सा त सरकारले पहिले नै तयार गरेको छ। नक्सा नभएको कारणले बाटो गएको र भएको भए जादैनथ्याे भन्ने होइन।’
नक्सा सार्वजनिक गर्नेबारे प्राविधिक तयारी भइरहेको उनको भनाइ छ। ‘नक्सा सार्वजनिक गर्नुअगाडि त्यहाँको भूमिका बारेमा आधिकारिक कुरा नक्सामा हुनुपर्छ,’ मन्त्री ज्ञवालीले भने, ‘एक इन्च तलमाथि हुनुहुँदैन। सिम्बोलिक ढंगले जारी गर्ने कुरा एउटा होला। तर, नक्सा नै जारी गर्दा त्यसलाई हरेक हिसाबले स्थापित गर्ने गरि गर्नुपर्ने भएको हुनाले सरकारले आवश्यक प्राविधिक तयारीहरु गरिरहेको छ।’
सबै काम सकिएपछि उपयुक्त समयमा नक्सा सार्वजनिक गरिने मन्त्री ज्ञवालीको भनाइ छ।
चीनसँग पनि कुरा गर्नुपर्ने हुनसक्छ
पश्चिमतिरको क्षेत्रमा नेपाल, भारत र चीनबीच त्रिदेशीय विन्दू कायम गर्न बाँकी नै रहेको भन्दै मन्त्री ज्ञवालीले अहिलेको सन्दर्भमा चीनसँग पनि कुरा गर्नुपर्ने हुनसक्ने बताए। ‘चीनसँगको सीमासम्बन्धी सन्धी त्रिदेशीय विन्दु तय नगरिकनै, जिरो पिल्लर नराखीकन एक नम्बर पिल्लरबाट गणना सुरु भएको छ,’ उनले भने, ‘पश्चिमबाट पूर्वतिर गएको छ। त्रिदेशीय विन्दू पनि तय गर्नु पर्ने भएकाले यो प्रश्नमा हामीले चीनसँग पनि कहीँ न कहीँ छलफल गर्नुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने।
भारतले बाटो खनेको बारे सरकारलाई थाहा नभएको भन्ने कुरा गलत भएको उनको भनाइ छ। ‘भारतले बाटो खनेकोबारे परराष्ट्रमन्त्रीलाई थाहा नभएको वा नेपाल सरकारलाई थाहा नभएको भन्ने कुरा होइन,’ मन्त्री ज्ञवालीको भनाइ छ, ‘सन् २००८ देखि बाटो खन्ने काम भएको छ, त्यो राज्यका निकायहरुलाई थाहा नहुने भन्ने कुरा होइन। त्यसअनुसार नै सूचनाको सम्प्रेषण, विश्लेषण भएको छ। पहलका बाबजुद पनि हाम्रा अनुरोधहरुलाई ध्यान नदिएर याे विषय अगाडि बढेको हो ।’
अन्तर्राष्ट्रियकरण
भारतसँगको सीमा समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने कतिपय सांसदका प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले अहिले त्यतातर्फ नसोचिएको बताए। कूटनीतिक संवादबाटै समस्या समाधान हुनेमा नेपाल विश्वस्त रहेको उनको भनाइ छ। ‘हामीलाई थाहा छ यस्ता प्रश्नहरुमा हामीले बुहत सोची विचारीमात्रै कदम चाल्नुपर्छ,’ मन्त्री ज्ञवालीले भने, ‘नेपाल सरकारको विश्वास द्विपक्षीय कूटनीतिक वार्ताबाटै समाधान गर्न सकिन्छ भन्ने छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।