काठमाडाैं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकको सीमा प्रतिशतमा हेर्न नमिल्ने बताएका छन्। प्रतिनिधिसभाकाे आजकाे बैठकमा बाेल्दै मन्त्री ज्ञवालीले यस्ताे बताएका हुन्।
'लिपुलेकका बारेमा चीनलाई पनि पत्राचार गरिएको छ,' उनले भने, 'नेपालको धारण समय-समयमा प्रष्ट पार्ने काम भइरहेको छ।' मन्त्री ज्ञवालीले भौगाेलिक अखण्डता र राष्ट्रियतालाई कायम राखेर अघि बढ्ने बताउँदै सबै खालका उपाय अवलम्बन गर्ने कुरामा आएका सुझावलाई ध्यानमा राखेर काम गर्ने जानकारी गराए।
सीमा विवादमा नेपाल-भारत संयुक्त आयोगले काम गर्दै आएको उनकाे भनाइ छ। 'उसले १९२ थान प्रतिवेदन पनि तयार पारेकाे थियाे,' उनले भने, 'सुस्ताको गर्लाङदेखि नापी भएन।'
भारतले विवादित भूमिबाहेकका नक्सामा हस्ताक्षर गर्न आग्रह गर्दै आए पनि नेपालले अस्वीकार गरेकाे उल्लेख गर्दै उनले भने–'विवादित क्षेत्रबाट सेना फिर्ताको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा आग्रह गर्नु भएको छ।'
नक्साको विषयमा प्रश्न उठेको र निर्देशन भएको मन्त्री ज्ञवालीले जानकारी दिए। 'सरकार यसमा काम गरिरहेको छ। नक्सा प्राविधिक कुरा भएकाले समय लागेको हो,' उनले भने, 'नक्सा सार्वजनिक गर्ने विषयमा कुनै समस्या छैन। नेपालको प्रचलनमा रहेको नक्सा वर्तमान सरकारले मात्र प्रचलनमा ल्याएको होइन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।