काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्घाटन गर्ने भारतीय कदमले नेपालको सार्वभौमिकताको अवमूल्यन गरेको ठहर गरेको छ। शनिबार साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त प्रेस वक्तव्य जारी गर्दै भारतको सो कदमप्रति नेकपाको गम्भीर ध्यानकर्षण भएको जनाएका हुन्।
दुई देशबीचको समान सार्वभौमिकताको सिद्धान्त, भौगोलिक अखण्डता र परस्पर हितमा आधारित सम्बन्धमा आफ्नो पार्टीले विश्वास गर्ने नेकपाको भनाइ छ। कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेका बेला भारतले यस्तो कदम चालेको भन्दै नेकपाले दुःख व्यक्त गरेको छ।
सुगौली सन्धिअनुसार महाकाली नदीले स्पस्ट रुपमा सीमा छुट्याउने भन्दै नेकपाले लिम्पियाधुरा, लिपुलेक र कालापानी भूभाग नेपालकै भएको नेकपाले बताएको छ। लिपुलेकलाई व्यापारिक मार्ग बनाउने गरी भारत र चीनबीच भएको सहमतिको सन् २०१५ मै नेपाल सरकारले विरोध गरेको पनि नेकपाले स्मरण गराएको छ।
सरकारले सीमासम्बन्धी वार्ताका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठको प्रस्ताव गरेकोप्रति सेचत रहेको भन्दै नेकपाले कूटनीतिक माध्यमबाट समस्या हल गर्न सरकारले चाल्ने कदममा समर्थन रहेको जनाएको छ। भारतको पछिल्लो एकपक्षीय कदम सीमासम्बन्धी समस्या स्थापित संयन्त्रमार्फत् गर्न दुई देशका सरकारबीच भएको सहमतिको विरुद्ध रहेको पनि नेकपाको ठहर छ।
नेकपाले नेपाल र भारत सरकारलाई सीमासम्बन्धी समस्या हल गर्न तत्कालै पहल लिन पनि आग्रह गरेको छ। नेकपाले सडक निर्माणको काम तत्काल रोक्न समेत भारतसँग आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।