काठमाडौं-संयुक्त राज्य अमेरिकाको बेरोजगारी दर ९० वर्षयताकै उच्च बिन्दुमा पुगेको छ। विश्वव्यापी महामारी कोभिड-१९ ले पारेको असरका कारण अमेरिकामा बेरोजगारको संख्या शताब्दीयताकै बढी देखिएको छ।
२ महिनाअघि अर्थात गत फेब्रुअरीमा त्यहाँ बेरोजगारी दर ३ दशमलब ५ प्रतिशत रहेकोमा अहिले त्यो बढेर १४ दशमलब ७ प्रतिशत पुगेको छ। सन् १९३० को आर्थिक मन्दीपछि अमेरिकामा देखिएको बेरोजगारहरुको संख्या हालसम्मकै उच्च हो। गत मार्चयता मात्रै ३ करोड ३३ लाख मानिसले रोजगारी गुमाएका छन्। यो अमेरिकामा काम गर्ने मानिसहरुको संख्याको २० प्रतिशत बराबर हो।
गत अप्रिल महिनामा मात्रै अमेरिकामा २ करोड ५ लाख मानिसहरुले रोजगार गुमाएको तथ्यांक अमेरिकी श्रम मन्त्रालयले गत बिहीबार सार्वजनिक गरेको छ। उक्त तथ्यांकअनुसार गत सातामात्र ३२ लाख अमेरिकी नागरिकले बेरोजगारहरुले पाउने सुविधाका लागि आवेदन दिएका छन्। अहिले निवेदन आउनेक्रम बढिरहेको जनाइएको छ। गत मार्चमा साप्ताहिक रुपमा ६९ लाख सम्मले बेरोजगारीका लागि पाउने सुविधाका लागि निवेदन हालेका थिए।
कोरोनाका कारण होटल व्यवसायमा संलग्न ७७ लाख मानिसहरु अर्थात् कुल बेरोजगार मानिसहरुको ४७ प्रतिशत बराबरले काम गुमाएका छन्। त्यस्तै शिक्षा र स्वास्थ्य क्षेत्रका २५ लाख र खुद्रा व्यवसायमा संलग्न २१ लाख मानिसहरुले जागिर गुमाउनु परेको छ।
पछिल्ला साताहरुमा ठूला व्यवसायिक र व्यापारीक कम्पनीहरुले पनि धमाधम कामदार कटौती गरिरहेका छन्। कोरोना संक्रमण रोकथाम हुन नसके स्थिति अझै भयावह हुन सक्ने आँकलन अर्थशास्त्रीहरुको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।