काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन विषयमा भारत सरकारसँग स्पष्ट विवरण माग गरेको बताएका छन्।
मन्त्रीज्ञवालीले नेपाल सरकारले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष आग्रह गरिएको बताएका हुन्।
‘लिपुलेक कालापानीबारे सरकार सजग छ, भारत सरकारबाट स्पष्ट विवरण आएपछि नेपाल सरकारले केकस्तो प्रतिक्रिया दिने भन्ने आधिकारिक धारणा सार्वजनिक गर्नेछ,’ मन्त्री ज्ञवालीले भने।
नेपाली भूमिमा भारतले एकतर्फी रूपमा नयाँ सडक ट्र्याक खोलेको विषयले दुई मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ।
भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले आज ट्विट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेको थिए।
यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ। भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्शा सार्र्वजनिक गरेपछि नेपाल सरकारले केहीअघि आपत्ति जनाएको थियो।
तर यो मुद्दामा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै आलोचना हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।