काठमाडौं-'ग्रुप योरूम' टर्कीको एउटा त्यस्तो ब्याण्ड हो, जो क्रान्तिकारी धारका गीत-संगीतको माध्यमबाट जनस्तरमा क्रान्तिकारी चेतना ल्याउन सन् १९८५ देखि निरन्तर लागिरहेको छ।
ब्यान्डमा टर्किस र कुर्दिस सदस्यहरु छन्। सबैजना स्वतन्त्रताका लागि गरेको संघर्ष, अन्तर्राष्ट्रिय ऐक्यबद्धता र दैनिक मजदुरी गर्नेहरुको पक्षमा गीत लेख्छन्, गाउँछन्।
तर, यही ब्याण्डमाथि सरकारकाे गिद्देनजर छ। ब्याण्डका गीत-संगीतबाट मानिसमा क्रान्तिको भावना जागृत हुने र आफ्नाे शासन डग्मगाउने डरले सरकारले याे ब्याण्डमाथि सन् २०१६ देखि नै धरपकडको शैली अपनाउँदै आएको छ।
उनीहरूका सांगीतिक समारोहमै गएर कलाकारलाई पक्रने‚ विभिन्न कार्यक्रम नै सञ्चालन गर्न नदिनेदेखि विभिन्न तवरले दमन गर्दै आएको छ टर्किस सरकार। त्यसैको विरोधमा ब्याण्डका सदस्यहरूले भोक हड्ताल गरेका थिए। ब्याण्डकै दुई सक्रिय सदस्य हेलिन बोलेक र इब्राहिम गोसेकले पनि भाेकहडताल गरे। त्यसमध्ये ब्याण्डका दोस्रो सदस्यको पनि बिहीबार मृत्यु भएको छ।
इब्राहिम गोसेक सन् १९८० मा टर्कीमा जन्मिए। उनले युवा उमेरमै टर्कीको क्रान्तिकारी सांगितिक समूह (ब्याण्ड) ‘ग्रुप योरूम’मा सामेल हुने निर्णय गरे। सो ब्याण्डसँग सम्बन्धित भएर विभिन्न ठाउँहरूमा सांगितिक समारोह गर्दै क्रान्तिकारी धारका गीत संगीतका माध्यमबाट समाजको जनचेतनालाई उकास्ने उनको उद्देश्य थियो।
सोहीक्रममा सन् २०१६ नोभेम्बरमा टर्किस प्रहरीले ब्याण्डका अन्य ७ सदस्यलाई प्रहरीको निर्देशन उल्लंघन गरेको आरोपमा इस्तानबुलबाट पक्राउ गरेको थियो। त्यहीँबाट सुरू भएको थियो यो सिलसिला।
त्यसपछि पनि उनीहरूका विभिन्न कार्यक्रम स्थगित गर्नेदेखि ब्याण्डका विभिन्न सदस्यहरूलाई धरपकडसम्म प्रहरीले गर्दै आएको थियो। सन् २०१९ मेमा प्रहरीले इब्राहिमलाई पनि बन्दी बनायाे। सरकारले यस्तै गीत गाएकै भरमा आफ्ना ब्याण्डका विभिन्न सदस्यहरूलाई पक्राउ गर्न थालेपछि अभिव्यक्ति स्वतन्त्रताको विरूद्धमा देखिएको सरकारको रवैयाविरूद्ध उनले जेलभित्रबाटै सन् २०१९ जुनमा भोक हड्ताल सुरू गरे।
सरकारले 'ग्रुप योरूम' माथि सांगितिक कार्यक्रमहरू सञ्चालन गर्न प्रतिबन्ध लगाउँदै आएको छ। त्यो फुकुवा हुनुपर्ने र अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै उनीहरू भोक हड्तालमा उत्रिएका थिए।
त्यसपछि हेलिन बोलेक र अर्का सदस्य बहर कुर्तलाई सरकारले २०१९ को नाेभेम्बरमा रिहा गर्याे। तर पनि उनीहरूले भोक हड्ताल जारी नै राखे।
हड्ताल भइरहँदा पनि सरकारले विभिन्न ठाउँबाट उनीहरूका सदस्यलाई पक्राउ गरिरहेको थियो। बोलेक भोक हड्तालमा उत्रिएको २ सय ८८ दिनपछि गत अप्रिल ३ मा उनको मृत्यु भयाे। यसबाट विश्व नै एक किसिमले तरङ्गित भयाे। तै पनि टर्किस सरकारले ग्रुप योरूमको प्रतिबन्ध फुकुवा गरेन।
अझ सरकारविरोधी क्रान्तिकारी जनमुक्ति पार्टी (डिएचकेपी/सी)सँग सम्बन्धित भएर विभिन्न सांगितिक क्रियाकलाप गरेको भन्दै टर्किस सरकारले बारम्बार उनीहरूमाथि धरपकड गरिरहेकाे थियो। इब्राहम गोसेकको भोक हड्ताल जारी थियो। इब्राहमले गत मे ५ मा ब्याण्ड‚ आम स्रोता र दर्शकको निरन्तरको अनुरोधपछि ३ सय २३ औं दिनमा भोक हड्ताल अन्त्य भएको घोषणा गरे। उनलाई इन्टेन्सिभ केयरमा राखियाे र दुई दिनपछि मे ७ मा उनको मृत्यु भयाे। ब्याण्डले बिहीबार पनि उक्त ग्रुपका ४१ वर्षीय गिटारिस्ट इब्राहम गोसेकको मृत्यु भएको जनाएको छ।
इस्तानबुलमा सन् १९८५ बाट सुरू भएको यो ब्याण्ड विश्वमा एक क्रान्तिकारी ब्याण्डको नामले चर्चित छ। प्रतिबन्धित पार्टी डिएचकेपी/सीसँग सम्बन्धित गीतहरू गाएको भन्दै त्यहाँको सरकारले उनीहरूविरूद्ध क्रुर निर्णय लिँदै आएको छ। उक्त पार्टीलाई टर्कीसहित युरोपेली युनियन र अमेरिकाले आतङ्ककारी संगठन भनेर घोषणा नै गरिसकेका छन्।
संगीत अध्येताहरूका अनुसार योरुमका गीत र सिनेमा टर्कीमा सर्वाधिक लोकप्रिय कला उत्पादनका रूपमा प्रसिद्ध छन् । उनीहरूका गीत टर्कीको इतिहासमै सबैभन्दा बढी खोजिने र सबैभन्दा धेरै बिक्री हुनेभित्र पर्छन् । अहिलेसम्म ग्रुप योरुमले २३ वटा सांगीतिक एल्बमहरू ल्याइसकेको छ।
यो ब्यान्डले १० जना निर्देशक रहेर टर्कीको जेल–जीवनसँग सम्बन्धित सिनेमा निर्माण गरेको छ, जुन टर्कीभित्र र बाहिरसमेत हजारौं दर्शकले रुचाएका थिए । तर, टर्की सरकारले उनीहरूको सिनेमा प्रदर्शनमा पनि प्रतिबन्ध लगाएको छ। योरुमलाई नयाँ सिनेमा निर्माणका लागि सुटिङ गर्न र चयन गरेको लोकेसनमा काम गर्न पनि बन्देज गरिएको छ। ब्याण्डलाई सरकारले कहिले छापा मार्ने त कहिले कार्यक्रमस्थलमै गएर अवरोध गर्नेजस्ता काम गर्दै दु:ख दिँदै आएकाे छ।
उनीहरूको लडाइँ नागरिकको संगीत र अभिव्यक्ति स्वतन्त्रतामाथिको सरकारी हस्तक्षेपविरूद्ध हाे।
मानिसमा क्रान्तिकारी चेतना ल्याउने दृष्टिकोणले ओतप्रोत भएका उनीहरूका गीतलाई त्यहाँको सरकारको आँखा लाग्यो। उनीहरूको यस्ता क्रान्तिकारी धारका गीतबाट कतै सरकार नै डगमगाउने त होइन भन्ने डरले विभिन्न लाञ्छना लगाएर निरन्तर रूपमा ब्याण्डका सदस्यमाथि अत्याचार गरिए।
राष्ट्रपति रेसेप इर्दोगानले सन् २०१४ मा सत्ता सम्हालेयता टर्कीमा अभिव्यक्ति स्वतन्त्रता डरलाग्दो गरी संकुचित भएको छ। रिपोर्ट्स विदाउट बोर्डसले त टर्कीलाई पत्रकारहरूका लागि ‘संसारकै ठूलो कारागार’ भनेको थियो। इर्दोगानले घोषणै गरेका थिए, ‘लोकतन्त्र र स्वतन्त्रताको टर्कीमा कुनै पनि मूल्य छैन ।’ पत्रकार र अधिकारकर्मीहरूको एक भेलामा उनले पत्रकार र बौद्धिकवर्गहरूलाई समेत आतंककारीको परिभाषामा ल्याउनुपर्ने जिकिर गर्दै भनेका थिए, ‘बन्दुकको ट्रिगर तान्नेहरू मात्रै होइनन्, जसले त्यस्ता सम्भावना निर्माण गर्छन्, उनीहरूलाई पनि आतंककारीकै रूपमा परिभाषित गर्नुपर्छ, चाहे तिनीहरू जेसुकै उपाधिका होउन् ।’ इर्दोगानको यही अभिव्यक्तिपछि इस्तानबुलको कला जगतमाथि सरकारी व्यवहार झन् क्रुर हुँदै गएको हो। त्यसको पछिल्लो परिणाम हेलेन बोलेक र इब्राहम गोसेकको सहादत हो ।
टर्किस भाषामा योरूमको अर्थ हुन्छ विवेचना अर्थात् टिप्पणी। गीत-संगीतमार्फत् जनचेतना फैलाउन प्रेरित भएर उनीहरूका कार्यक्रम सञ्चालन गरिन्थे। कतिपय स्थितिमा उनीहरूले सित्तैमा भव्य सांगितिक समारोह (कन्सर्ट) आयोजना गर्थे। अहिलेसम्म ग्रुप योरूमका २३ वटा विभिन्न सांगीतिक एल्बम छन्। टर्कीको जेलजीवन कति कष्टकर छ भनेर देखाइएको एउटा चलचित्रसमेत यो ब्याण्डले निर्माण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।