भैरहवा- नेपाल र भारत दुवै देशमा लकडाउन रहेका बेला तस्करी गरी भारतबाट नेपाल ल्याउँदै गरेको ६ क्विन्टल धानको बीउ बरामद भएको छ। सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले सो धानको बीउ बरामद गरेको हो।
रोहिणी गाउँपालिका वडा नम्बर २ खुरहुरियामा सशस्त्र प्रहरी बल पजरकट्टी बेस क्याम्पबाट खटिएको टोलीले लु २ त ८३७७ नम्बरको ट्रयाक्टरमा भारतबाट ल्याउदै गरेको अवस्थामा ६ सय किलो भारतीय धानको बिउ, स्थानीय गहुँ २ हजार १ सय ४२ किलो, डिजिटल तराजु १ थान बरामद गरेको छ। सशस्त्र प्रहरी निरीक्षक शुशिरबाबु पन्तको कमाण्डमा खटिएको टोलीले उक्त सामाग्री बरामद गरेको हो।
नेपालबाट भारी मात्रामा मदिरा भारततर्फ पठाउने र भारतबाट मल, धानको बिउ लगायत अन्य सामाग्रीहरुको ओसारप्रसार बढेको गुनासोको आधारमा सीमामा निगरानी बढाइएको सशस्त्र प्रहरीको दाबी छ।
अहिले सीमा नाकामा ठाउँठाउँमा सशस्त्र प्रहरीको गस्ती छ। तत्कालको लागी स्थायी रुपमा सब बेसहरु बनाएर बसेको सशस्त्र प्रहरीको आँखा छलेर कसरी यस्ता सामाग्री नेपाल भित्रिएको छ त्यो भने शंकाकै विषय रहेको छ।
यसरी अवैध रुपमा आउने सामाग्रीले लकडाउनको उल्लंघन गर्नुको साथै कोरोनाको त्रास समेत उत्तिकै बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।