काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाइरस महामारीबाट बच्न धैर्यता,आत्मसंयम र अनुशासन आवश्यक रहेको बताएका छन्। थापाले पछिल्लो समयमा यस विषयमा विज्ञहरुको सुझाव सकारात्मक, उपयोगी र व्यवहारिक हुने भन्दै अब संक्रमित/प्रभावित क्षेत्रको वर्गिकरण गरेर जनजीवन र अर्थतन्त्रलाई क्रमशः सामान्य बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन्।
कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै राप्रपा गैरसरकारी संस्था समन्वय विभागले पार्टी अध्यक्ष कमल थापालाई मकवानपुर जिल्लाको लागि ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेको छ।
विभाग प्रमुख कुन्ती पोखरेलद्वारा अध्यक्ष कमल थापालाई शुक्रबार १० थान थर्मल गन हस्तान्तरण गरिएको हो।
थोरै भए पनि यसरी स्वास्थ्य सामग्री मकवानपुर जिल्लाको लागि उपलब्ध गराउन पाउँदा खुशी लागेको विभागकी प्रमुख पोखरेलले प्रतिक्रिया दिइन्। अध्यक्ष थापाले सामग्रीहरु मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत विपद व्यवस्थापन समिति कमाण्ड पोस्टमा हस्तान्तरण गर्न निर्देशन दिए।
सो अवसरमा राप्रपा जनजाति विभागका नेता राम बहादुर थोकरले एक हजार मास्क समेत अध्यक्ष थापालाई हस्तान्तरण गरे। सहयोगका लागि अध्यक्ष थापाले विभागलाई धन्यवाद दिएका छन्। स्वास्थ्य सामग्रीहरु तत्काल हेटौंडा पठाइने राप्रपा युवा नेता राजाराम बर्तौलाले जानकारी दिए। गैरसरकारी संस्था महासंघ र विभागले यसअघि पनि यस्ता सहयोगहरु निरन्तर गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।