काठमाडौं- समाजवादी जनता पार्टीका नेता डा. बाबुराम भट्टराईंले प्रधानमन्त्री केपी शर्माको राजीनामा मागेका छन्। दल विभाजन गर्ने र संसद् अपहरण गर्ने काममा रहेको भन्दै भट्टराईंले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।
‘रोगले जीर्ण भएको शरीरलाई आराम दिनुपर्छ,’ भट्टराईले बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै भने, ‘यो लोकतन्त्र र तपाईं आफ्नै छवि बचाउनका लागि पनि तपााईंले राजीनामा दिनुपर्ने हुन्छ।’
देशको कार्यकारी पार्टी फुटाउने र संवैधानिक निकाय कब्जा गर्ने काममा लाग्नु लोकतन्त्रका लागि खतरा भएको भट्टराईको भनाइ छ। ‘हाम्रो देशको कार्यकारी नेतृत्व पार्टी फुटाउने र संवैधानिक नियकामा कब्जा गरेर जान सक्छ भन्ने सन्देश प्रभाव भएको छ,’ यो लोकतन्त्रका लागि सुभ संकेत होइन। पार्टी फुटाउने अध्योदश किन ल्याउनुपर्यो? संवैधानिक व्यवस्थालाई किन भत्काउन खोजियो? यो निकै खतरनाक संकेत हो।’
उनले अहिले सरकारको छवि राम्रो नभएको र राजनीतिमा सबै भ्रष्ट, पदलोलुप भन्ने विम्ब बनेको बताए। सांसद अपहरण गरेको विषयको जाहेरी समेत नलिएको भन्दै उनले रातारात सांसद र पूर्व प्रहरी प्रमुख किन जानु पर्यो भनी प्रश्न समेत गरे।
‘सांसदको कुरा आयो कति स्वेइच्छाले आउनु भयो त्यो बेग्लै कुरा हो। तर, सांसदलाई रातारात किन ल्याउनुपर्यो?,’ उनले भने, ‘सांसद र पूर्व प्रहरी प्रमुख किन राती राती जानुपर्यो? एउटा जाहेरी पनि नलिने भन्ने हुन्छ? किन लिनुहुन्न भन्दा उहाँ म लिन्नँ भन्नुहुन्छ। उहाँ आतंकित बनाउनुहुन्छ। यसरी आतंकित बनाएर, संघसंस्था भत्काएर देश बन्छ? तपाईंले पनि मुद्दा फिर्ता लिनुहोस्, हामी पनि लिन्छौं भन्ने? यही हो लोकतन्त्र?’
कोरोना परीक्षण बढाऔं
भट्टराईले आफ्नो सम्बोधनका क्रममा महाव्याधिमा अग्रपङ्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक खाद्यान्न वितरण गर्ने सबैप्रति अभार प्रकट गरे। कोरोना परीक्षण निकै कम भएको भन्दै उनले ‘प्रोक्सी टेस्ट’ समेत गर्न सकिने सुझाव दिए।
‘संक्रमण थोरै देखिए पनि हाम्रो परीक्षण नगण्य छ,’ भट्टराईले भने, ‘विश्वका धेरै देशमा परीक्षण संख्या धेरै छन्। सुदुरपश्चिममा श्रम गरेर एक लाख आएको भनिए पनि त्या परीक्षण किटको अभावले परीक्षण रोकिएको छ। प्रोक्सी टेस्ट गरेर भए पनि त्यसको अनुमान गर्नुपर्छ। सरकार ढुक्क भएर बस्नु हुँदैन। तपाईं हामी कोही पनि बस्नु हुँदैन।’
विदेशमा रहेका नागरिकलाई नेपाल नआउन भन्ने बाहेक सरकारले चित्तबुझ्दो रुपमा केही पनि गर्न नसकेको भन्दै भट्टराइले आफ्नै नागरिकलाई देश निकाला गर्न नहुने बताए। ‘विदेश रहेका नेपालीहरुको अवस्था नाजुक छ। मलाई राती–राती फोन आउँछ,’ ती देशका सरकारले जाऊ भनिरहेको छ। तर, सरकारले यसमा ठोस काम गरेको छैन। ६० लाख भन्दा बढी विदेशमा रहने नेपाली मध्ये एक चौथाई विस्थापित हुनेछन्। रोजगारी गुमेर १५/२० लाख नेपाली नेपाल फर्किनेवाला छन्। तिमीहरु नआऊ भनेर सुख पाइँदैन। संविधानले कुनै पनि नागरिकालाई देश निकाला गर्न पाइदैन।’
उनले विपन्नहरुका लागि ठोस प्रकारको राहातको व्यवस्था गर्न पनि माग गरे। भट्टराईले भने, ‘तपाईं हामीले तलब खाने अनि श्रमिकले नपाउने भन्ने हुन्छ? अनि आफूलाई समाजवादी भन्ने?’
अर्थतन्त्रमा दोस्रो विश्वयुद्धपछिकै ठूलो मन्दी आउन थालेको भन्दै उनले रोजगारी र कृषि क्षेत्रलाई लक्षित गरी कार्यक्रम ल्याउनुपर्ने बताए। ‘अब अर्थतन्त्रमा दोस्रो विश्व युद्धपछिकै ठूलो मन्दी व्यर्होदै छ,’ उनले भने, ‘२ खर्ब देखि ५ खर्ब सम्म हाम्रो अर्थतन्त्रमा असर पुर्याउँछ। रोजगारी र कृषिमा ठोस योगदान पुर्याउने गरी कार्यक्रम ल्याउनुपर्छ।’
एमसिसीलगायतका कुरामा एकले अर्कालाई देशभक्त र देशविरोधी कायम गर्ने प्रयास हुन सक्ने भन्दै राष्ट्रियताका सवालमा सबै एकजुट हुनुपर्नेमा जोड दिए। ‘राष्ट्रियताका सवालमा एउटै आवाज लिएर जाने र सरकारले सबैको साथ लिनुपर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।