काठमाडौं- राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले जनता कोरोना महामारीको संकट त्रासमा भइरहँदा सरकार भने कुर्सी जोगाउनै लागि लिप्त भएको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनता कोरोनाका कारण घरमै लकडाउन पालना गर्दा दुई तिहाइको सरकारबाट पार्टी फुटाउनेदेखि सवैधानिक नियुक्तमा ल्याएको अध्यादेशले ल्याएर जनतालाई आहात दिएकोआरोप लगाए।
जनताले सुशासन,समृद्धि र भ्रष्टाचार रोक्न निर्माण भएको सरकारले सांसद अपहरणसम्मको कार्य गरेर के देखाउँन खोजेको भन्दै उनले आलोचना गरे। कोरोना परिक्षणको शून्य तयारी गरेको सरकारले किन जनतालाई राहत दिने कार्यक्रम ल्याउन नसेकेको र सिमाक्षेत्रमा तथा विदेशमा अलपत्र रहेको नेपालीहरुका बारेका किन नसोचेको भन्दै उनले सरकारको ध्यानकर्षण गराए।
उनको धारणा जस्ताको तस्तै
उनको कोरोना महामारी विश्वव्यापी रुपमा फैलिएको छ। हाम्रो देशपनि यो संकटबाट अछुतो छैन। यो परिस्थितिमा आजको बैठक चलिरहेको छ। सवैधानिक बाध्यताका कारण यो बैठक बोलाइएको हो। त्यो परिस्थितिमा यो बैठक जनताको हितमा र महामारीको विरुद्धमा काम गर्नुपर्ने हो। त्यसमा सदुपयोग गरौं। सरकारलाई आफ्नो बजेट अधिवेशनका लागि बोलाइएको भए पनि जनतालाई परेको पीडा र कष्टका आवाज हामी उठाउन पाउने छौं। यो महामारीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्न चाहान्छु। विदेश वा देशमा जहाँ भएपनि यसबाट पीडित भएकाहरुप्रति स्वास्थ्य लाभको कामना गर्दछु।
यो लडाईंमा अग्रपक्तिमा रहेका चिकित्सक,नर्स, सुरक्षाकर्मी र अन्य प्रत्यक्ष रुपमा यो महामारीमा खटिएका सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। हामी यो महामारीविरुद्ध सारा नेपाल एक भएर लडिरहेको नै अहिलेको आवश्यकता हो। यो महामारीवाट जोगिने र यसलाई परास्त गर्न सवैको सहयोग आवश्यक हुन्छ।
पीडाकै बावजुद पनि सबै नेपालीले लकडाउन पालना गरिरहेका छन्। विश्व नै अहिले दुखद अवस्थामा रहेको छ। तर दुखद् अवस्थामा नेपाल सरकार यसमा चुकेको छ। जनताले दुई तिहाई मत दिएर यत्ति शक्तीशाली सरकार बनाएर हामी खुशी भएका थियौं। अब सुशासन पाइएला र समृद्धि होला भन्न हाम्रो अनुमान थियो। हिमाल पहाडका जनताले आफ्नो पहिचान पाउलान् भन्ने थियो। हामीले त्यसैले सरकारलाई सहयोग गरेका थियौं।
आज प्रश्न उठाउन मन लागेको छ, नेपाली जनताले के पाए? आज नेपाली जनता यो शक्तिशाली सरकारवाट के पाए? यो एउटा मात्र प्रश्न उठाउन मन आज लागेको छ। यही सपना हामीले देखेका थियौं? त्यो सपना अनुसारको सुशासन हामीले पायौँ त? सरकारले बाँडेको समृद्धि पायौँ त। के हामीले अधिकार पायौँ त? खोसिएको अधिकार पायौँ। यो सबै प्रश्न अब आज उठाउनु पर्ने भएको छ।
निर्वाचित सासदलाई किन रिहाई गरिएन? यो प्रश्न उठाउनु पर्ने थियो तर आज यो प्रश्न उठाउदिनँ। आज यो सरकारलाई एउटा मात्र माग गर्न मन भएको छ त्यो हो जनता संकटमा छन् उनीहरुलाई बचाइदिनुस्। नेपाली जनता संकटमा छन्। जनता संकटमा छन् म अब अरु सवाल म यो मञ्चबाट उठाउँदिनँ। सरकारले यो काम कति इमान्दारीताका साथ गरेको छ यसको बारेमा उठाउने छु।
जनता त्राहीमाम् मा छन्। सरकार पद बचाउन, अध्यादेश र पार्टी विभाजनमा लागेको छ। यो के हो? महामारीमा जनता बचाउन ऊर्जा लगाउनुपर्नेमा कता उर्जा खर्च गरिरहेको छ सरकार? रातारात यो दुई अध्यादेश किन आयो? लोकतन्त्र, पार्टी र जनतालाई बलियो बनाउन हो? लोकतन्त्र कमजोर र पार्टी फुटाउने रे। जनताले उपाचार पाएको छैन। तर यहाँ सरकार अर्को धन्दामा लागेको छ।
पार्टी फोर्ने र सांसद अपहरण गर्ने गराउने। अपहरण को हो कारबाही गरि पाउँ भन्दा जाहेरी नलिने? जहाँ जाने हो त्यही जाऊ भन्ने यो हुकुमी शासन के हो? यो धन्दा यही बेलामा गर्ने हो? यो धन्दामा सरकारलाई गर्न सुहाउँछ? कुर्सी जोगाउन र पाउनका किन यस्तो संकटमा सरकारले गर्न मिल्छ? जनतासग सरोकार नराख्ने सरकार कसका लागि हो। सरकार के का लागि हो? जनताले राहत र सरकार संकटमै खोजेको हुन्छ। दुई तिहाईको सरकार जनतालाई पिडा दिन हो? हाम्रो पार्टी पनि फुटाउने अनि आफ्नोमा मिसाएर कुर्सी जोगाउने? यो कस्तो खेल हो?
यहाँ त सरकारले एकपछि अर्को सरप्राइज दिइरहेको छ। पार्टी फोर्ने ,सांसद अपहरण गर्ने र कुर्सी बचाउने सरप्राइज दिने समय हो यो? यस्तो सरप्राइज जनतालाइ चाहिएको छैन। हामीले पनि यही सरप्राइजमा पार्टी एक गरेर देखाएका हौँ। त्यसैले आजको दिनमा सरकारले दुई कौडीको पनि काम गरेन। सरकारले जनता पीडाका रहेको अवस्थामा दुई तिहाईको सरकारले दुई कौडीको काम गर्ने? म संविधान संशोधन र अधिकार तथा भ्रष्टाचारको कुरा उठाउँदिनँ। सुनकाण्ड,वाइडबडी र निर्मलादेखि घरघरमा गाँसको पाइप पुर्याउने सपनाको पनि कुरा उठाउँदिनँ।
यसरी उठाउनेहरुलाई गुन्डा लगाउने अनि कुनलाई के मुद्दा लगाएर भित्र हाल्ने हो ठेगान छैन। तर कुर्सी पाउने र जोगाउने काम चै रातारात गर्न यो सरकारले जानेको छ। लकडाउन भएकाले सडकमा बोल्न पाइएन तर संसदमा त बोल्न पाइन्छ। अहिले एउटा मात्र कुरा उठाउने हो जनतालाई राहत देऊ। दैनिक काम गरेर खाने , उपचारमा खटिएका चिकित्सकहरुलाई सुरक्षा उपाय देऊ।
सरकार कोरोना जाँचमा किन सुस्त भयो। अहिलेसम्म कतिको जाँच गर्यो सरकारले? जम्मा १०१ जना (हाल एक जना थपिएर १०२ पुगेको) मा मात्र कोरोना देखिएको छ भनेर सरकार बस्ने हो? व्यापक रुपमा जाँच हुनुपर्ने होइन? कछुवाको गतिमा कोरोना टेष्ट गरेर बस्ने ठीक कार्य ठिक भएन। व्यापक रुपमा परिक्षण हुनुपर्यो अनि मात्र थाहा हुन्छ कोरोना कुन स्तरमा छ भने। को संक्रमित हो भन्ने नै अहिले थाहा हुन सकेको छैन। सरकारले गर्नुपर्ने काम गरिरहेको छैन तर नगर्नुपर्ने गरिरहेको छ।
जनताले विकल्प खोजिरहेका छन्। सरकारले राम्रो काम नगरेका कारण जनताले त्यसको विकल्प खोजेका छन्। शुसासन र समृद्धि चाहने पार्टी जनताले खोजेका छन्। बहुराष्ट्रिय राज्य स्थापना गर्नु अबको आवश्यकता छ। हिमाल-पहाड र तराई मधेश सवैको देश बनाउनु छ। खोक्रो र एकल राज्यलाई मेटाउनुपर्ने आवश्यकता छ।
अन्त्यमा कोरोना भनेको मजाक हैन। छैन मात्रै भनेर पुग्दैन। डब्लुएचओले के भनेको छ सुन्न जरुरी छ। जनतामाथि संकट आउन सक्छ। युरोपमा के भइरहेको छ? अमेरिका,युरोप र बेलायतमा के भइरहेको छ? हाम्रा जनता लाखौँ नेपाली विदेशमा अलपत्र छन्। कसरी बाँच्ने हो ऊ देश फर्कन चाहान्छ सरकारले के योजना बनाइरहेको छ।
सरकारले उनीहरुलाई कसरी राख्ने हो त्यो सोच्नु पर्यो। दैनिक श्रम गरेर खानेहरुको विषयमा सोच्न पर्यो। सिमा क्षेत्रमा जनता बसेका छन्। आफ्नै सरकारलाई भन्ने हो। सरकारले कुर्सीमा मात्र बसेर बस्ने होइन। सरकार लायक होस् वा नहोस् भन्ने यही सरकारलाई भन्ने हो। सांसद विकास कोष खारेज गर्नुपर्छ। त्यो रकम कोरोनामा लगाउनु पर्छ। अनि आउने बजेट पनि कोरोना केन्द्रित हुनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।