फाइल तस्वीर
काठमाडौं– मेडिकल सामग्री खरिद प्रक्रियामा भ्रष्टाचार आरोप लागेकाहरुलाई पदमुक्त गरी अनुसन्धान गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले माग गरेको छ। संसदमा बोल्दै दलका नेता शेरबहादुर देउवाले मेडिकल सामग्री खरिदमा भ्रष्टाचार हुनु र अझै अभाव हुनु लज्जास्पद रहेको बताएका हुन्।
कोरोनाबाट नेपालीलाई जोगाउन आफ्नो पार्टी सरकारको साथमा रहेको बताउँदै उनले सरकारले उचित कदम चाल्न नसकेकोमा आलोचना गरे। नेपाल र नेपालीको रक्षा गर्न आफ्नो पार्टीले सघाइरहेका बेला भ्रष्टाचार र अधिनायकविरुद्ध लड्नुपरेको उनको भनाइ थियो।
विवादित अध्यादेश ल्याएर लोकतन्त्रविरुद्ध सरकार लागेको उनको आरोप थियो। यसैगरी श्रमिकलाई न बसेकै ठाउँमा खान दिने, न गाउँ जान दिने गरेर सरकारले राहतको सट्टा आहात बनाएको उनले बताए।
सुकुम्बासीलाई राहत दिनुको सट्टा आयोग बनाउनु सही नभएको उनको भनाइ थियो। उनले बेरोजगार नेपाली, कृषक, पत्रकार, मिडिया हाउस, पर्यटन व्यवसायी र साना व्यवसायीलाई राहत दिनुपर्नेमा जोड दिए। यसैगरी सांसदको अपहरण हुनु र त्यसमा सरकारको संलग्नता देखिनु दुर्भाग्यपूर्ण रहेको उनले बताए।
उनले यो घटनाको गहिरो समिक्षा गर्दै संसदले विशेष रणनीति बनाउनुपर्नेमा जोड दिए। आगामी बजेट कोरोना केन्द्रीत हुनुपर्ने उनको माग थियो। उनले कोभिड १९ विरुद्ध अग्रपङ्तिमा लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीको प्रशंसा र सम्मान व्यक्त गरे। कोरोना भाइरसविरुद्ध एक साथ भएर लड्न कांग्रेस तयार रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।