काठमाडौं- यातायात व्यवस्था विभागको टाउको दुःखाइको विषय बनेको स्मार्ट लाइसेन्स प्रिन्टका लागि लकडाउन ‘अवसर’कै रुपमा देखिएको छ। लामो समयदेखि ट्रायल पास गरेर र नवीकरण दस्तुर तिरेर रसिदका भरमा लाखौं सेवाग्रहरीहरु सवारी चलाइरहेका छन्। असार मसान्तसम्ममा अब ती सबै सेवाग्राहीले लाइसेन्स पाउने भएका छन्।
लकडाउनको दुई साता लाइसेन्स प्रिन्ट नगरेको यातायात व्यवस्था विभागले त्यसयता तीन सिफ्टमा दैनिक ५ हजारभन्दा बढी लाइसेन्स प्रिन्ट गर्दै आएको छ। लकडाउन सुरु हुँदा विभागमा प्रिन्ट गर्न बाँकी लाइसेन्सको संख्या ६ लाखभन्दा बढी थियो।
लकडाउनको यो अवधिमा डेढ लाखभन्दा बढी लाइसेन्स प्रिन्ट भइसकेको विभागका महानिर्देशक गोगनबहादुर हमालको भनाइ छ। ‘लकडाउनको करिब दुई साता रोकेको लाइसेन्स प्रिन्ट तेस्रो साता एक सिफ्ट र यतिबेला तीन सिफ्टमा गरिरहेको छ,’ हमालले भने, ‘अहिले नयाँ आवेदन र नवीकरणको लागि नयाँ प्रिन्ट गर्नुपर्ने दायित्व छैन। त्यसैले असार मसान्तसम्ममा हामीले प्रिन्ट गर्न बाँकी रहेका सबै सक्ने लक्ष्य लिएका छौं।’
हाल प्रत्येक सिफ्ट ६ घण्टाको छ। ४ घण्टा लाइसेन्स छापेपछि करिब एक घण्टा मेसिनलाई आराम दिइन्छ। यसैले तीन सिफ्टको १८ घण्टामा १४ घण्टाजति मेसिन चलाउन सकिने विभागको भनाइ छ।
अहिले मास प्रिन्टरमार्फत छपाइ भइरहेको छ। विभागसँग एउटा मास प्रिन्टर, ७ लाख कार्ड र चारवटा साना मेसिन छन्। तीन सिफ्टमा गरी करिब पाँच हजार लाइसेन्स दैनिक छपाइ भइरहेको छ। मेसिन एक सिफ्टमात्र चलाउँदा दुई हजार प्रति हाराहारी छपाइ हुने गरेको थियो। हमालका अनुसार लकडाउनकै बीच विभागले करिब डेढ लाख हाराहारी लाइसेन्स छापिसकेको छ।
‘देश लकडाउनमा रहेकाले कतैबाट नयाँ माग आएको छैन,’ उनले भने, ‘यो हाम्रा लागि छाप्न बाँकी काम सक्ने अवसर पनि हो। यही आर्थिक वर्षमा शून्यमा झार्ने लक्ष्यअनुसार लागेका छौं। त्यसपछि हामी निश्चित मिति तोकेरै सेवाग्राहीलाई लाइसेन्स दिनसक्ने अवस्था बन्छ।’ चालु आर्थिक वर्षको अन्त्यसम्ममा लाइसेन्स पाउन बाँकी रहेका सबैले पाउने दाबी उनको छ।
सामान्य अवस्थामा देशभरबाट दैनिक ३ हजार लाइसेन्स प्रिन्ट गर्नुपर्ने माग विभागमा आउने गरेको थियो। उक्त संख्या नयाँ लाइसेन्सका लागि ट्रायल पास गरेका र नवीकरण गर्नुपर्नेको संख्या हो। अहिले त्यो माग नभएकाले विभागलाई सजिलो भएको छ।
लकडाउनको अवधिमा पुरानो प्रिन्ट गर्न बाँकी सक्ने र त्यसपछिको अवस्थामा साता वा १५ दिनमा लाइसेन्स दिनसक्ने अस्था रहने विभागले जनाएकाे छ। अवस्था सामान्य भएपछि दैनिक ५ हजारको प्रिन्ट माग आउने अनुमान विभागको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।