फाइल तस्बिर
काठमाडौं- सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक तत्काल बोलाउन माग गर्दै असन्तुष्ट नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'सँग भेटघाट गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गरी २० स्थायी कमिटी नेताहरुले बैठकमा छलफल गरेको जानकारी दिँदै अध्यक्ष प्रचण्डलाई भेटेका हुन्। उनीहरूले आफूहरूले गरेका छलफलका विषय पनि आगामी स्थायी कमिटी बैठकमा प्रस्तावका रूपमा समावेश गर्न सुझावसमेत दिएका छन् ।
बिहीबार तोकिएको स्थायी कमिटी रोकिएकोमा असन्तुष्टि जनाउँदै धुम्बाराहीबाट नेताहरु जनार्दन शर्मा, भिम रावल, हरिबोल गजुरेल र रघुजी पन्तलगायत नेताहरु सिधै प्रचण्ड निवास खुमलटार पुगेका थिए।
असन्तुष्ट नेताहरुले कोरोना महामारीमा सरकारले गरेको राम्रा/नराम्रा काम, विदेशमा रोकिएका नेपालीलाई उद्धार, विवादित अध्यादेश, सरकारले गरेका अनियमितता र एक व्यक्ति एक पदका एजेन्डा स्थायी कमिटीमा पेश गर्नुपर्ने सुझाव दिएका एक स्थायी कमिटी सदस्यले बताए।
‘हामीले स्थायी कमिटी बैठकको माग गरेका थियौं। बैठकको मिति तोकिएपनि स्थागित भयो,’ ती नेताले भने, ‘बैठक किन स्थगित भयो भन्ने बारेमा अध्यक्ष प्रचण्डलाई सोध्यौं। तत्काल स्थायी कमिटी बैठक बोलाउन र हामीले राखेका एजेन्डा समावेश हुनुपर्छ भनेका छौं।’
अध्यक्ष प्रचण्डले असन्तुष्ट स्थायी कमिटी सदस्यहरुले राखेका एजेन्डासमावेश गर्ने आस्वासन दिएको ती सदस्यले बताए।
पार्टीमा विवाद बढ्दै गएपछि वैशाख १० गते २० स्थायी कमिटी सदस्यले अध्यक्ष ओली प्रचण्डलाई पत्र लेखेर तत्काल बैठक बोलाउन माग गरेका थिए। बैठक बोलाउन एकपछि अर्को दबाब बढ्दै गएपछि बिहीबारका लागि स्थायी कमिटी बैठक बोलाएको थियो। तर बुधबार बसेको सचिवालय बैठकमा स्थायी कमिटीमा पेस गर्ने एजेन्डाका विषयमा विवाद भएपछि अध्यक्ष ओली बैठक हल छोडेर बाहिर निस्किएका थिए। स्थायी कमिटी बैठकमा पेस गर्ने एजेन्डाका विषयमा ओली समूह र प्रचण्ड-नेपाल समूहबीच विवाद कायमै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।