काठमाडौ– नेकपा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ स्थायी कमिटी बैठकमा पेस हुने एजेन्डामा सहमत भएलगत्तै बैठक बस्ने भएको छ। स्थायी कमिटी बैठकमा पेस हुने एजेन्डामा स्पष्ट ध्रुवीकरण देखिसकेकाले ओली-प्रचण्ड सहमत भए बैठक बस्न समस्या नहुने भएको हो।
पार्टीमा अध्यक्ष ओलीसहित ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, उपाध्यक्ष बामदेव गौतम स्पष्ट खुलेर लागेका छन्। उता अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल,माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ देखिएका छन्। अझैपनि रामबहादुर थापा‘बादल’ बीचधारमै उभिएका छन्।
ओली र प्रचण्ड दुवैलाई विश्वासमा लिएर यताउता गर्दै आएका छन्। स्थायी कमिटीमा पेस हुने एजेन्डामा छलफल गर्ने विषय साँघुरिदै गएकाले बैठक ओली प्रचण्डमै केन्द्रित भएको एक सचिवालय सदस्यले बताए। ‘बैठकमा के के एजेन्डा राख्ने के के नराख्ने भन्ने विषयमा दुवै समूहले आ–आफ्नो म्याण्डेट दिइसकेको छ’ ती सचिवालय सदस्यले भने, ‘अध्यक्षद्वय ओली-प्रचण्डले समझदारी गरेर एजेन्डा तय गरेलगत्तै स्थायी कमिटी बैठक बस्छ।
त्यसमा कुनै समस्या छैन।’ बुधबार सचिवालय बैठक छोडेर अध्यक्ष ओली निस्किएपछि दुई अध्यक्षबीच लामो समय छलफल भएपनि सहमति जुट्न सकेन। छिट्टै ओली प्रचण्डले घनिभुत छलफल गरेर स्थायी कमिटीमा पेस हुने एजेन्डामा सहमत भए स्थायी कमिटी बैठक बस्ने नेताहरुले बताएका छन्। तर, अध्यक्ष प्रचण्डले बिहीबार संसद भवन निरीक्षण गरेलगत्तै मिडियासँग प्रक्रिया दिँदै एक दुई दिनभित्रै स्थायी कमिटी बैठक बस्ने बताएका छन्।
प्रचण्ड-नेपाल समूहले एक पद एक व्यक्ति, विवादित अध्यादेश र सरकारका विषयमा स्थायी कमिटीको एजेन्डामा प्रवेश गराउने पक्षमा उभिएका छन्। तर, ओली कारोना महामारी बजेटमात्रै केन्द्रित हुनुपर्ने अडानमा उभिएका हुन्। आफूलाई कमजोर हुनेगरी ओलीले स्थायी कमिटी बैठकमा एजेन्डा नलग्ने अडानमा छन्।
ओली सहमतिबाट पछि हट्दै
गत २० गते सचिवालय बैठकअघि ओली प्रचण्डबीच एक पद एक व्यक्ति र प्रदेशका मुख्यमन्त्री र संघका मन्त्री हेरफेर गरेर पावर सेरिङमा सहमति भएको थियो। यस समझदारीमा ओली-प्रचण्ड बाहेक अरू सचिवालय सदस्यलाई जानकारी गराइएको थिएन। ओली प्रचण्डबीच सहमति भएपछिमात्रै प्रचण्डले अरु सचिवालय सदस्यलाई जानकारी दिएका थिए।
उता ओली-प्रचण्डबीच भएको सहमतिमा खनाल र नेपालले समेत सहमति जनाए। तर, फेरि पहिलेकै अवस्थामा ओली आएपछि प्रचण्ड-नेपाल समूह झस्किएको एक सचिवालय सदस्यले बताए। ओली ती एजेन्डामा प्रवेश नै गर्न खोजेका छैनन् भने प्रचण्ड-नेपाल समूह सहमतिका सबै एजेन्डा सचिवालय हुँदै स्थायी कमिटीबाट निर्णय गराउने पक्षमा छन्। स्थायी कमिटीमा पेस हुने एजेन्डालाई लिएर ओली प्रचण्ड दुवै एकले अर्कालाई गलाउने रणनीतिमा लागेका छन्।
दुवै अध्यक्ष एजेन्डामा सहमत भए सचिवालयमा पेस हुने
स्थायी कमिटीमा पेस हुने एजेन्डामा ओली प्रचण्डबीच सहमत भएलगत्तै सचिवालयबाट पास गरी स्थायी कमिटीमा पेस हुने एक सचिवालय सदस्यले बताए। ‘हिजो सचिवालय बैठकमा प्रधानमन्त्रीज्यू थोरै बोलेर म थाकें‚ तपाईंहरु निर्णय गर्नुस् भनेर बैठक छाडेर हिँड्नुभयो,’ ती सचिवालय सदस्यले भने, ‘अध्यक्ष ओली बैठकबाट बाहिरिएपछि अर्का अध्यक्षसँग यी विषय स्थायी कमिटीमा एजेन्डा हुनुपर्छ भन्ने सहमति भयो।’ अब स्थायी कमिटीमा पेस हुने एजेन्डामा ओली प्रचण्डले सहमति गरे सचिवालयबाट पारित गरी स्थायी कमिटीमा पेस हुने भएको छ।
बजेटपछि धकेल्ने रणनीतिमा ओली‚ तत्काल बस्नुपर्ने पक्षमा प्रचण्ड-नेपाल
अध्यक्ष ओलीले कोरोना महामारी र बजेटलाई देखाएर १५ जेठभन्दा पर स्थायी कमिटी बैठक धकेल्ने पक्षमा देखिएका छन्। सचिवालय बैठक पचाइसकेका ओलीले विभिन्न बहाना बनाएर स्थायी कमिटी बैठक सारेर आलोचना पचाउने पक्षमा छन्। आफूलाई कमजोर हुनेगरी एक/एक व्यक्ति कुनै हालतमा स्थायी कमिटीमा पेस नगराउने अडानमा छन् ओली। उता प्रचण्ड-नेपाल समूह तत्काल १‚२ दिनभित्रै स्थायी कमिटी बैठक बस्नुपर्ने पक्षमा छन्।
विषयवस्तु धेरै बासी भए भने आफ्ना एजेन्डा कमजोर हुँदै जाने भएकाले तत्काल बैठक राख्नुपर्ने बताउँदै आएका छन्। गत वैशाख १० गते प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी नेताहरुले ओली प्रचण्डलाई पत्र नै लेखेर तत्काल स्थायी कमिटी बैठक राख्न माग गरेका थिए। नेताहरुलाई एकपछि अर्को प्रेसर बढ्दै गएपछि बिहीबारका लागि स्थायी कमिटी बैठक तोकिएको थियो।
तोकिएकै दिन बैठक हुन नसकेपछि बिहीबारै २० स्थायी कमिटी नेताहरुले तत्काल बैठक राख्न माग गरेका छन्। स्थायी कमिटी बैठक रोक्नु गम्भीर गल्ती भएको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताइन्। तत्काल बैठक नबस्दासम्म निरन्तर दबाब दिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।