काठमाडाैं- संघीय संसदको राष्ट्रियसभामा सहभागी हुने सांसदहरुले बोल्नका लागि रोष्टम प्रयोग गर्न नपाउने नियम बनाइएको छ। राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुले एउटै सिट प्रयोग गर्नुपर्ने, रोष्टममा मन्त्री र राष्ट्रियसभाको दलको नेताबाहेक अन्यले आफू बसेकै ठाउँको माइक प्रयोग गर्नुपर्ने लगायतका निर्णय गरेको छ।
कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बैठक कक्षमा प्रवेश गर्ने र बाहिर आउने प्रयोजनका लागि फरक ढोका प्रयोग गर्नुपर्ने नियम पनि बनाइएको छ। त्यस्तै मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुनेगरी व्यवस्थापन गर्ने नियम बनाइएको छ।
कार्यव्यवस्थाले यी लगायत नौ वटा निर्णय गरेको छ। त्यस्तै स्वास्थ्य सेवा विभाग टेकु र राष्ट्रियसभाका अध्यक्षसहितको संयुक्त अनुगमन टोलीले ७ बुँदे आचरसहिंता पनि निर्माण गरेको छ। साबुन पानीले हात धुनुपर्ने, मेडिकल मास्क अनिवार्य लगाउनुपर्ने लगायतका रहेका छन्।





राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएका निर्णयहरु
१. विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छोडेर बस्ने व्यवस्था मिलाउने।
२. राष्ट्रियसभा बैठक कक्षमा अधिवेशन अवधिभर माननीय सदस्य ज्यूहरु एउटै सिटमा बस्ने।
३. सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्री तथा राष्ट्रिय सभा दलको नेताबाहेक अन्य माननीय सदस्य ज्यूहरुले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्ने। सामान्य अवस्थामा विधेयकको सिद्धान्त माथिको छलफमा सबै माननीयज्यूले रोष्टमको प्रयोग गर्ने प्रचल रहि आएको थियो।
४. संसद भवनमा प्रवेश गर्दा र फर्कँदा फरक ढोकाको प्रयोग गर्ने।
५. क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्ने।
६. संसद भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाईमा विशेष ध्यान दिने।
७. दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने।
८. मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुनेगरी व्यवस्थापन गर्ने।
९. त्यसैगरी स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले रोग संक्रमणको सम्भावित जोखिम रोकथाम गर्नेगरी संसद भवनको स्थलगत अनुगमन पश्चात तयार पारेको सुझाव प्रतिवेदनमा उल्लेखित आचारसंहिताको पालना गर्ने।
यस्ता छन् आचारसंहिता
-सबै सहभागीहरुले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनु पर्नेछ।
-मेडिकल मास्कको प्रयोग बैठक अवधिभर सबैले अनिवार्य रुपमा गर्नुपर्नेछ।
-सबै सहभागीहरुले बैठक समयमा भौतिक दूरीको पालना गरी तोकिएको कुर्सीमा मात्र बस्नु पर्नेछ।
-सकेसम्म समूहगत छलफलन नगर्ने, यदी गर्नै परेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्नेछ।
-आफूलाई स्वास्थ्यसम्बन्धि कुनै पनि समस्या (ज्वोरो, खोकी, थकान, शरिर दुखाई आदी) देखा परेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्नेछ।
-बैठक हलबाट बाहिर निस्कनु परेमा पुनः प्रवेश गर्दा साबुन पानी वा ह्याण्ड स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्नेछ।
-बैठक अवधिभर घरमा गई स्वयम् एकान्तवासको नियमहरुको पालना गर्नु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।