काठमाडौं– नेकपा सचिवालयले पूर्व निर्धारित स्थायी कमिटि वैठक नबोलाए पछि केहीस्थायी कमिटी सदस्यहरू पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसिरहेका छन्। स्थायी कमिटीको बैठक माग गरिरहेकाहरु धुम्बाराहीमा जम्मा भएको नेकपा स्थायी कमिटी सदस्य बेदुराम भूसालले बताए।
भेला हुनेमा ओलीइतर स्थायी कमिटी सदस्यहरू छन्। गत वैशाख २० गते नेकपाको सचिवालयले बिहीबार ११ बजेका स्थायी कमिटी बैठक बोलाएको थियो।
बुधबार एजेन्डा तय गर्न बसेको सचिवालय बैठकमा स्थायी कमिटी बैठक नगर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बीचमै बैठक छाडेर निस्किएका थिए। साँझ दुई अध्यक्षले छलफल गरेर बैठक तत्कालका लागि स्थगित गरे।
सरकारले दुई ल्याएको अध्यादेश विवादित भएपछि वैशाख १० गते भीम रावल, सुरेन्द्र पाण्डे, मातृका यादव, टोपबहादुर रायमाझी, अष्टलक्ष्मी शाक्यलगायत २० जना स्थायी कमिटी सदस्यले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए।
पार्टीले बैठक नबोलाए पनि छलफल गर्न सहमति जनाउनेमा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण बिष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणी पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र हरिबोल गजुरेल छन्। तीमध्ये केहीको उपस्थित भने नरहेको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।