काठमाडाैं- कोरोना परीक्षणको ‘रिपोर्ट’ नदेखाई संघीय संसदका कुनै पनि सदस्यले बैठकभित्र प्रवेश गर्न नपाउने भएका छन्। सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोनाको पिसिआर परीक्षणको रिपोर्ट देखाएरमात्र बैठक हलभित्र प्रवेश गर्न दिने नियम बनाएको हो।
बिहीबार पिसिआर परीक्षण भएका सांसदहरुको रिपोर्ट ढिलोमा शुक्रबार बिहानसम्म आइसक्ने र सो रिपोर्ट देखाएरमात्र सांसदहरुलाई बैठकमा प्रवेश गर्न दिइने सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए। संघीय संसदका दुवै सदनका सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलनको कार्य भइरहेको छ।
काठमाडौं बाहिर रहेका सांसदहरुलाई शुक्रबार बिहानैदेखि परीक्षण गरिने छ। रिपोर्ट नआई संसद बैठकमा उनीहरुले भाग लिन नपाउने निर्णय कार्य व्यवस्थाले गरेको छ। कार्य व्यवस्थाको उक्त निर्णयले राजधानी बाहिर रहेका धेरै सांसद शुक्रबारको बैठकमा भाग लिनबाट बञ्चित हुने भएका छन्।
सांसदहरु आफ्नो जिल्ला घुमेर आएको र धेरै मानिससँग सम्पर्कमा पुगेको हुनाले रिर्पोटपछि मात्र संसद भवनमा प्रवेश दिने निर्णयमा सबै दल पुगेको खाँडले बताए। रिपोर्ट नदेखाई बैठकमा भाग लिन दिदाँ काेराेना लागेकाे सांसद भए अन्य सांसदलाई पनि सर्ने भएकाले सचेतना अपनाउने निर्णय बैठकले गरेको उनले बताए। सांसदमै संक्रमण भेटियो भने त सबैलाई असर गर्नुका साथै राम्रो सन्देश पनि नजाने उनले बताए।
सचिवालयले राजधानी बाहिर रहेका सांसदहरुलाई पनि स्वाब संकलनका लागि सूचना गरिसकेको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद अधिवेशन सुरु भइसकेपछि कुनै पनि सांसदलाई काठमाडौं छाडेर निर्वाचन क्षेत्र जान नदिने निर्णयसमेत गरेको छ।
संसद बैठकको ग्यापमा सांसदहरु निर्वाचन क्षेत्र जाने प्रचलन रहेकाले संक्रमणको जोखिम रोक्न यस्तो निर्णय गरिएको उनले बताए। अब संसद अधिवेशनभर कुनै पनि सांसद निर्वाचन क्षेत्रमा जान पाउने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।