काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रहरीद्वारा प्रक्राउ गरिएका आफ्नो पार्टीका नेताकार्यकर्ताहरूलाई बिना सर्त रिहा गर्न माग गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव विप्लवले गत मंगलबार पक्राउ परेका केन्द्रीय सदस्य अनिल शर्मा‘विरही’सहतिका नेताहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको हो।
शर्मालाई प्रहरीले गत मंगलबार चितवनबाट अस्पतालमा उपचार गर्न गएको मौका छोपेर पक्राउ गरेको थियो। यस्तै प्रहरीले इलाम जिल्ला इन्जार्ज पुष्प कोइरला, चितवन जिल्ला सेक्रेटरी दुर्गासमेत पक्राउ गरेको छ।
कोरोना महामारीका बेला आफूहरूले कारबाही स्थगित गरेको भन्दै विप्लवले सरकारले आफ्ना नेता कार्यकर्ता पक्राउ गरेर हिंसा र आतंक मच्चाउन खोजेको आरोप लगाएका छन्।
सरकारले आफ्ना असफलता र बदमासीबाट जनताको ध्यान मोड्न आफ्ना नेता कार्यकर्ता पक्राउ गरेर दमन गरेको भन्दै फासिस्ट सरकारविरुद्ध एक जुट हुन विज्ञप्तिमा उल्लेख छ।
सरकारले २०७५ फागुन २८ गते नेकपालाई प्रतिबन्ध लगाएपछि निरन्तर नेता कार्यकर्ता पक्राउ गर्दै आएको छ। हालसम्म विप्लव नेतृत्वको नेकपाका एक हजारभन्दा बढी नेता कार्यकर्ता पक्राउ गरेको प्रहरीले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।