भैरहवा- रुपन्देही कोटहिमाई गाउँपालिकाद्वारा निर्माण गरिएको क्वारेन्टाइनमा रहेकाहरुलाई योग प्रशिक्षण दिइएको छ। कोटहिमाई– ५ मझगांवास्थित मर्चवार आदर्श माविमा निर्माण गरिएको क्वारेन्टाइनमा प्रदेश नम्बर ५ सामाजिक विकास मन्त्रालयको आयोजनामा क्वारेन्टाइनमा रहेका करिब ३० जनालाई रोगबाट लडन सक्ने क्षमताको विकास गर्ने उद्देश्यका साथ प्रशिक्षण गरिएको हो।
मन्त्रालयका स्वास्थ्य निर्देशनालय, लुम्बिनी आयुर्वेद चिकित्सालय वरिष्ठ कविराज गणेश सापकोटाले क्वारेन्टाइनमा रहेका वा बाहिर रहेका सबैको दिनचर्या, सरसफाईका उपायहरु, खानपान शैली, रोग प्रतिरोध क्षमताको वृद्धिका उपाय, सामान्य लक्षणको उपचार, अनिद्रा आएमा के गर्ने लगायतका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए। सापकोटाले क्वारेन्टाइनमा रहेकाहरुलाई प्रत्येक बिहान क्वाफ पिउन गुर्जो, जेष्ठ नागरिकहरुको लागि अर्सुगन्धा, प्रसुति स्त्रीको लागि सतावरी चुर्णलगयतका आयुर्वेदिक औषधि गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवलाई हस्तान्तरण गरेका थिए।
त्यसैगरी, मन्त्रालयका योग प्रशिक्षक विष्णुहरि आचार्यले आत्मबल बढने, शरीरमा रोग प्रतिरोधक क्षमता बढने, तनाव कम हुने, विचार शुद्ध हुने विभिन्न किसिमका योग प्रशिक्षण गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै कोटहिमाई गाउँपालिका आयुर्वेद शाखा प्रमुख रविन्द्रप्रसाद मिश्रले अहिलेको आहारविहार तथा पहिलेको आहारविहारमा धेरै बदलाव आएकोले मानिसहरुमा रोग प्रतिरोधक क्षमता धेरै न्यून हुँदै गरेको बताए। उनले भने ‘मानिस जति विद्वान भएपनि आफ्नो शरीरको आवश्यकता तथा क्षमताबारे जानकार हुनु आवश्यक छ।’ अहिले कोरोनाको संक्रमण उसैमा धेरै प्रभाव देखिएको छ जसमा रोग प्रतिरोधक क्षमता कम भएको छ जसको कारण राम्रो खानपान नहुनु रहेको छ मिश्राको भनाइ छ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मनबहादुर कुंवर, गाउँपालिका इञ्जिनियर मोहम्मद नुरुल हुसेन खान, सशस्त्र प्रहरी बल मझगांवाका सशस्त्र प्रहरी निरीक्षक अनिल थापा लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।