काठमाडाैं- सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित सामूहिक मेसको स्थलगत अनुगमन गरेका छन्। बुधबार काठमाडौंको चमति, भुईंखेल र बुद्धपार्कमा सञ्चालित मेसको अनुगमन गरिएको हो।
चमतिमा सञ्चालित मेसमा दैनिक करिब तीन सय जनाले खाना खाने गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। राज्यमन्त्री मानन्धरले चमतिमा सञ्चालित मेसमा खाना खान आउनेकाे ज्वरो मापन गर्नका लागि थर्मल गन उपलब्ध गराएका थिए। थर्मल गन ग्रहण गर्दै चमति ज्यापु समाजका अध्यक्ष पूर्णकाजी ज्यापुले आफूहरुको अभियानमा मन्त्रीले हौसला प्रदान गरेको बताए।
स्वयंभुको भुईंखेलमा भने दैनिक सात सय जनाभन्दा बढीले खाना खाने गरेका छन्। स्थानीय बुद्धिजिवी र सहयोगी विभिन्न संस्थाहरुले खाना खुवाउन आवश्यक प्रबन्ध मिलाउने गरेको आयोजकले जनाएका छन्।
भुईंखेलमा अहिलेसम्म २८ हजारभन्दा बढी सर्वसाधारणलाई खाना खुवाइएको आयोजकका अगुवा किरण शाहीले जानकारी दिए। दैनिक रुपमा डेढ सय मुस्लिम परिवारका लागि होम प्याकिङको समेत व्यवस्था मिलाइएको शाहीले बताएका छन्।
यस्तै स्वयंभुको बुद्ध पार्कमा पनि दैनिक साढे तीन सयभन्दा बढी सर्वसाधारणलाई खाना खुवाउने गरिएको मनाङ विमन्स समूहले जानकारी दिएको छ। महिलाहरुको अग्रसरतामा विभिन्न सहयोगी दाताहरुको समन्वयमा खाना खुवाईएको हो।
अनुगमनका क्रममा राज्यमन्त्री मानन्धरले मानव सेवाका लागि दैनिक रुपमा खटिनेहरुको योगदान अमूल्य रहेको बताए। मानन्धरले विपद्को घडीमा विपन्न तथा कमजोर अवस्थाका नागरिकको रक्षाका लागि सबै नागरिकले आ-आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए।
उपत्यकाका विभिन्न स्थानमा सञ्चालित सामूहिक मेसमा दैनिक पाँचदेखि सात हजारसम्मले खाना खाने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।