काठमाडौं–नेपाल उद्योग परिसंघ (सीएनआइ) का वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले अबको बजेट पूरातन नभई अर्थतन्त्र सुधार्ने र सकारात्मक हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस संसदीय दलले आज गरेको अन्तक्र्रिया बोल्दै अग्रवालले विकास बजेटमा सम्झौता हुन नहुने बताए। उनले कोरोना जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनले साढे २ अर्बको नोक्सानी भइसकेकाले अब बन्द नगरी नयाँ ढाँचाको हिसाबले अगाडि बढ्नुपर्ने बताए।
उनले व्यक्त गरेका विचार:
म तीन वटा कुरामा जोड दिन चाहन्छु। यो समस्या जबसम्म भ्याक्सिन आउँदैन, तबसम्म रहने देखिन्छ। लकडाउन सुरु हुँदा हामीले दुई महिनासम्म जान्छ भनेर सोचेनौ। अब सबै मिलेर लड्नुपर्ने अवस्था छ। यतिखेर कुनै पनि निजी क्षेत्रले काम गर्न सकेको छैन र सरकारले पनि पैसा संकलन गर्न सकेको छैन। अहिले मुख्य समस्या भनेको बाँच्ने भएको छ। अब नयाँ फ्रेम बनाएर खोल्नै पर्छ। बरु कुन–कुन जोन बनाउने हो बनाउँ, तर अब बन्द नगरौ। साढे २ अर्ब नोक्सान भइरहेको छ। यसको कुनै उपाय छैन।
जिडीपी ८ प्रतिशतको अनुमान गरिएको थियो। तर अहिले २.३ प्रतिशतमा झरिसकेका छौं। अबको बजेट पुरातन ल्याएर हुँदैन। अर्थतन्त्र सुधार्ने र सकारात्मक बजेट ल्याउनु पर्छ। विकास बजेटमा सम्झौता हुनुहुँदैन। अझ २० प्रतिशत बढाउनु पर्छ। पाँच प्रतिशत लाभ ‘डिसएड्भान्स्ड’ व्यवसायलाई पनि दिनु पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।