काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव कम गर्न सरकारलाई दबाब दिने बताएका छन्। कांग्रेस संसदीय दलले गरेको अन्तक्रियामा देउवाले विपक्षी दलको काम सरकारलाई दबाब दिने भएको उल्लेख गरे।
सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटका विषयमा बोल्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ व्यवसायीका समस्या पुर्याउने प्रतिबद्धता जनाए। उनले भने, ‘प्रधानमन्त्रीलाई भेटेर आएका समस्या अवगत गराउने छौं। समस्याको समाधान गर्न दबाब पनि दिने छौं। विपक्षीको काम नै दबाब दिने हो।’
कोरोनाका कारण विदेशमा रोजगारी गुमाउने संख्या बढेको उनले बताए। रोजगारी गुमाउँदा रेमिट्यान्स घट्नुका साथै बजेटमा प्रभाव पार्ने देउवाकाे भनाइ छ। उनले रोजगारी गुमाएर फर्कनेका लागि व्यवस्थापन गर्न सरकारलाई सुझाए।
सभापति देउवाले पर्यटन क्षेत्रमा कोरोनाले सबैभन्दा बढी असर गरेको प्रति सरकारको ध्यानाकर्षण गराए। उद्योगी, व्यवसायीले ऋणको व्याजदर घटाउन गरेको आग्रहलाई सरकारको ध्यानाकर्षण गराउने बचन उनले दिए।
कांग्रेसले विभिन्न क्षेत्रका अगुवाहरुलाई आमन्त्रण गरेर कोरोनाले निम्त्याएको समस्याका विषयमा अन्तक्रिया गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।