काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नरहेको बताइरहँदा सरकारसँग रहेको खाद्यान्नको मौज्दात भने रित्तिदै गएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग रहेको चामल, दाल, नुन, चिनी, तेलजस्ता उपभोग्य सामग्रीको मौज्दात घट्दै गएको छ।
लकडाउन सुरु भएको दिन अर्थात गत चैत ११ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग तीन महिनासम्मको माग धान्न सक्ने अर्थात २५ हजार ८ सय १८ मेट्रिक टन चामल मौज्दात रहेको थियो। तर, बैसाख २१ गतेसम्म आईपुग्दा चामलको मौज्दात घटेर १८ हजार मेट्रिक टन बराबर मात्रै छ। अर्थात खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थप चामल नकिन्ने हो भने अहिलेको मौज्दातले अधिकतम २ महिनासम्म धान्न सक्छ।
खाद्य व्यवस्थासँग अहिले ६ सय ९ क्विन्टल फापर र ५ सय ३४ क्विन्टल सिमी मौज्दात छ। यसले उपत्यकाको रामशाहपथ, नख्खु, थापाथली, भक्तपुर र ललितपुर तथा उपत्यका बाहिरका २६ वटा शाखा कार्यालय र ५९ वटा डिपो कार्यालयबाट खाद्य सामग्री बिक्री वितरण गरिरहेको छ। हालसम्ममा खाद्य व्यवस्था कम्पनीले विभिन्न जिल्लाका पालिकाहरुलाई ३१ हजार क्विन्टल चामल राहतका लागि बिक्री वितरण गरिसकेको जनाएको छ।
त्यस्तै लकडाउन सुरु हुँदाताका साल्ट ट्रेडिङ कर्पोरेसनसँग ७ हजार ५ सय मेट्रिक टन चिनी मौज्दात थियो भने २ हजार ५ सय मेट्रिक टन आयातको क्रममा थियो। अहिले त्यो घटेर ३ हजार ३ सय मेट्रिक टनमा सीमित भएको छ। साल्ट ट्रेडिङसँग नुन भने पर्याप्त छ। लकडाउन अघि १ लाख ५९ हजार मेट्रिक टन नुन मौज्दात रहेकोमा अहिले १ लाख ४८ हजार मेट्रिक टन मौज्दात छ। यसले ९ महिनासम्मको बजार माग धान्न सक्छ।
साल्ट ट्रेडिङ कर्पोरेसनले सोमबारसम्ममा चामल ५ हजार २ सय क्विन्टल, खानेतेल ४५ हजार ६ सय लिटर, दाल ९ सय ३२ क्विन्टल, चिउरा ६ सय ३६ क्विन्टल, ७ ब्याग पिठो, साढे ५ क्विन्टल मस्यौरा, १ क्विन्टल चियापत्ती र ६३ हजार गोटा साबुन विभिन्न स्थानीय तहलाई राहतका रुपमा बिक्री वितरण गरेको जनाएको छ।
निजी क्षेत्रसँग भएको मौज्दात
अहिले लकडाउनका कारण सीमा नाका सिल गरिएको भएपनि खाद्यान्न, औषधिलगायत अत्यावस्यक वस्तुको आपूर्ति व्यवस्थापनमा भने अवस्था सहज नै छ। सरकारसँग भएको खाद्यान्न मौज्दात घट्दै गएपनि निजी क्षेत्रसँग भने अहिले पनि पर्याप्त खाद्यान्न मौज्दात छ।
मन्त्रालयको तथ्यांकअनुसार बैशाख २२ गतेसम्ममा निजी क्षेत्रसँग १ लाख २ हजार मेट्रिक टन चामल र ६१ हजार मेट्रिक टन धान मौज्दात छ। निजी क्षेत्रसँग १६ हजार मेट्रिक टन दाल, केराउ, चना मौज्दात छ।
अहिले तेल उद्योगसँग पाम आयल ४ सय ८६ मेट्रिक टन, पामोलिन १ हजार ९ सय मेट्रिक टन, सोयाबिन तेल १ हजार ६ सय मेट्रिक टन, सुर्यमुखी तेल ८ सय ४६ मेट्रिक टन मौज्दात छ। निजी क्षेत्रबाट ६ हजार ३ सय मेट्रिक टन आयातको क्रममा र ७० हजार ८ सय मेट्रिक टन कलकत्ता बन्दरगाहमा आइपुगेको अवस्थामा छ।
पेट्रोलियम पदार्थ
पेट्रोलियम पदार्थको भण्डार भने अहिले भरिएको अवस्थामा छ। नेपाल आयल निगमसँग सोमबारसम्ममा ३४ हजार किलोलिटर डिजेल मौज्दात छ।
त्यस्तै पेट्रोल ६ हजार ५ सय १६ किलोलिटर, मट्टितेल २ हजार ५ सय ५७ किलोलिटर र हवाई इन्धन ६ हजार ८ सय २१ किलोलिटर मौज्दात छ। यसरी कुल ५० हजार ७ सय किलोलिटर पेट्रोलियम पदार्थ निगमसँग मौज्दात छ।
अहिलेको मौज्दातले औसत १० दिनको माग धान्न सक्छ। खाना पकाउने एलपिजी ग्यास वितरणमा केहि असहज स्थितिका कारण बजारमा अभाव देखिए पनि अहिले १३ हजार ४ सय मेट्रिक टन एलपिजी मौज्दात छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।