काठमाडौं- कोरोना भाइरस महामारीको प्रकोप रोकथामका लागि गत चैत ११ गतेबाट लागू भएको लकडाउनपछि खाद्यान्न, फलफूल, तरकारी र औषधिजन्य वस्तुको आयातमा अस्वभाविक वृद्धि देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यो अवधिमा सामान्य अवस्थामा भन्दा दोब्बर बराबर आयात भएकाे देखिएको हो।
चीनसँगको व्यापारका लागि प्रयोग भईरहेको केरुङ नाका र भारतसँगका केहि नाका अहिले पूर्णरुपमा बन्द छन्। लकडाउनका कारण भन्सार नाकाहरु सिल गरिएको भएपनि खाद्यान्न, औषधिलगायत अत्यावस्यक वस्तुको आयात निरन्तर रुपमा भईरहेको छ।
मन्त्रालयको बैशाख २२ गते सम्मको तथ्यांकअनुसार लकडाउन सुरु भएपछिको ४१ दिनमा १ लाख ३० हजार ४६२ मेट्रिक टन खाद्यान्न आयात भएको छ। त्यस्तै ३६ हजार ९९६ मेट्रिक टन दलहन, ५३ हजार ५७० मेट्रिक टन तरकारी, १७ हजार ९१० मेट्रिक टन फलफूल र ११ हजार ५९ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको देखिएको छ। यसमा तातोपानी भन्सार नाकाबाट आएको स्याउ र प्याजको परिमाण भने जोडिएको छैन।
यो अवधिमा औषधि बनाउनका लागि चाहिने कच्चा पदार्थ र उत्पादित औषधिको आयात पनि बढेको छ। मन्त्रालयका अनुसार ३४ करोड ८८ लाख ४६ हजार रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ र १ अर्ब ७९ करोड ३४ लाख ८२ हजार रुपैयाँ बराबरको तयारी औषधि आयात भएको छ।
तुलनात्मक रुपमा सामान्य अवस्थामा लकडाउन सुरु भएपछि खाद्यान्नको आयात क्रमशः बढेको छ। लकडाउन सुरु भएपछिको पहिलो हप्ताको तुलनामा पाँचौं हप्तासम्ममा आईपुग्दा खाद्यान्नको आयात १ सय ३६ प्रतिशत र दलहन तथा गेडागुडीको आयात ८५ प्रतिशतले बढेको छ। यसैगरी, तरकारी र फलफूलको आयात क्रमशः ३९ प्रतिशत र ३ सय १६ प्रतिशतले वृद्धि भएको छ। यही अवधिमा औषधिको कच्चापदार्थको आयात १ सय १८ प्रतिशत र तयारी औषधिको आयात ५१ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।