फाइल फोटो : नेकपा स्थायी कमिटी बैठक
काठमाडौं- नेकपा स्थायी कमिटी बैठकअघि शीर्ष नेताहरुबीच दौडधुप चल्न थालेको छ। गत वैशाख २० गते बसेको सचिवालय बैठकपछि अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ झलनाथ खनाल, माधव नेपाल लगायत नेताहरुले भेटघाटलाई तीव्रता दिएका हुन्।
सचिवालय बैठकको विवाद स्थायी कमिटीमा पुग्ने देखिएपछि शीर्ष नेताहरुबीच भेटघाट चलेको एक सविचालय सदस्यले बताए।
नेकपाको सचिवालय बैठक बुधबार र स्थायी कमिटी बैठक बिहीबारका लागि बोलाइएको छ।
स्थायी कमिटी बैठक एक दिन मात्रै बस्ने गरी अध्यक्षद्वयले तयारी गरिरहेको बुझिएको छ।
यसरी चल्दै छ दौडधुप
२० गतेको सचिवालय बैठकको भेलिपल्ट अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटे लगत्तै वरिष्ठ नेता नेपाललाई भेटेका थिए।
त्यस्तै, २१ गते दिउँसो नेपाल समूहको कोटेश्वरमा स्थायी कमिटी नेताहरुको भेलाको अयोजना भयो। भेलाले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमले धोका दिएको निष्कर्ष निकालेको थियो। कोटेश्वरको भेला सके लगत्तै वरिष्ठ नेता नेपाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।
सोमबार अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। ओली-प्रचण्डको भेटमा स्थायी कमिटी बैठकमा पेश हुने एजेण्डामा छलफल भएको बताइएको थियो। सोमबार दिउँसो स्थायी कमिटी रणनीति बनाउन भन्दै नारायणकाजी श्रेष्ठ निवास हात्तिवनमा अध्यक्ष प्रचण्डसहित झलनाथ खनाल, माधव नेपालले भेटवार्ता गरेका थिए।
हात्तिवन बैठकलाई स्थायी कमिटी बैठकलाई लक्षित गरी बसेको भनिए पनि आ–आफ्नो रणनीति बनाउन पुगेको एक स्थायी कमिटी नेताले बताए।
मंगलबार बिहान फेरि अध्यक्ष प्रचण्ड र नेता नेपाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। स्थायी कमिटी बैठकलाई लिएर ओली, प्रचण्ड र नेपालबीच भेट भएको प्रचण्डको सचिवालयले जनाएको छ।
स्थायी कमिटी बैठकलाई विवादरहित बनाउन नेताहरुबीच भेटघाट बाक्लिएको भए पनि अध्यक्षको प्रतिवेदन चित्त बुझ्दो नआए २० स्थायी कमिटी सदस्यले थप अर्को प्रतिवेदन ल्याउने तयारी गरेका छन्।
प्रचण्ड दस्तावेज लेख्दै
स्थायी कमिटी बैठकमा पेश हुने दस्तावेज अध्यक्ष प्रचण्डले लेख्ने भएका छन्। ओली प्रचण्डले पेश गर्ने दस्तावेज आज प्रचण्डले तयार पार्ने भएका छन्। उनले महासचिव विष्णु पौडेलको समेत सहभागितामा दस्तावेज तयार गर्ने प्रचण्डको सचिवालयले जनाएको छ।
स्थायी कमिटीमा पेश हुने दस्तावेज यस अघिका बैठकमा पेश हुनेभन्दा छोटो दस्तावेज लेखिने बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।