काठमाडौं- धनुषा प्रहरीले श्रीमतीको हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमानलाई पक्राउ गरेको छ। २३ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको अभियोगमा मिथिला नगरपालिका–९ लालभित्ती बस्ने हरि चौहानलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
झगडा गरी घरबाट हिँडेकी बिनु सम्पर्कमा नआएको भनी हरिले शुक्रबार प्रहरी चौकी लालगढमा मौखिक जानकारी गराएका थिए। त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले सोही नगरपालिका–१० लालगढस्थित सामुदायिक वनको मगरनी खोल्सामा हत्या गरेर लामाको शव गाडेको अवस्थामा फेला पारेको थियो।
इलाका प्रहरी कार्यालय ढल्केबर र प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उक्त स्थानमा उत्खनन गर्दा लामाको शव फेला परेको थियो। घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा हरिले नै हत्या गरेको खुलेपश्चात् उनलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।