रोल्पा-लामो समय काठमाडौंको इँटाभट्टामा काम गरेर घर फर्किएका रोल्पा त्रिवेणी गाउँपालिका ७ गैरीगाउँका ३२ वर्षीय लालबहादुर खत्री १४ दिनको क्वारेन्टाइन बसाइ सकेर त्यसै दिन घर फर्किएका थिए। तीन छोराछोरीका बुवा लालबहादुरले हातमा बिस्कुट र चाउचाउको पोका बोकेर घरको आँगनमात्रै के टेकेका थिए, जमिन नै थर्कनगरी बिस्फोटको आवाज आयो।
कहाँ के भयो भेउ पाउन सकेनन् उनले। आवाज आएको ५ मिनेटमै हल्लाखल्ला भयो। बम पड्किएर ४ बालबालिका ढलेछन्। घरभित्र पस्न नपाउँदै उनी हत्तपत्त घटनास्थल लागे। उनीअघि नै केही छिमेकीहरु पुगिसकेका थिए। घटनामा आफ्ना २ छोराछोरी बिमला केसी र विजय केसी परेको थाहा पाएपछि उनलाई पृथ्वी अध्याँरो भएजस्तै भयो, टेकेको जमिन भास्सिएजस्तो भयो।
छोराछोरी भएको ठाउँतिर जान खोजे। अर्को बम पनि भएको भन्दै गाउँलेहरुले त्यहाँ जान दिएनन्। ती अबोध छोराछोरीले न बाबा भेट्न पाए, न लालबहादुरले छोराछोरीलाई भनेर चाउचाउ र बिस्कुट दिन नै पाए ।
सम्पूर्ण नेपालीको ध्यान कोरोनातर्फ मोडिइरहेका बेला गत वैशाख १८ गते बेलुका रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ७ गैरीगाउँ गुज्रीखोला ठ्यामरबाेटमा यस्तो हृदयविदारक घटना भयो।
११ वर्षीया विमला गाउँकै विद्यालयमा कक्षा ४ मा पढ्थिन् भने भाइ विजय शिशु कक्षामा पढ्थे। लकडाउनले विद्यालय वन्द रहेका कारण विमला भाइ विजयलाई बोकेर गोठालो जान्थिन्। घरमा डेढ वर्षको छोरीको रेखदेख गर्दै आमा नमुना खत्रीले घरको काम गर्थिन। घरमा आमालाई सघाउने कोही थिएन।
विद्यालय छुट्टीको सदुपयोग गर्दै विमला र विजय गोठालो जान्थे। यद्यपि आमा नमुना नाकको बिरामी थिईन्। डाक्टरले अप्रेशन गर्ने सल्लाह दिए पनि पैसा अभावले रोग पालेर बस्न बाध्य थिइन्। सानै उमेरमा विवाह गरेकी उनी शारीरिक रुपमा पनि कमजोर रहेकाले विमलालाई घरको काम गर्नुपर्ने वाध्यता थियो।
खुसीकाे खबर सुनाउन पाइनन् आमाले
त्रिवेणी गाउँपालिका ४ छेप हो गौरव नेपालीको घर। उनी घटनाको तीन दिनअघि आमा तीलकुमारी नेपालीसँगै मामाघर आएका थिए। घटना भएको बिहान तीलकुमारीले गौरवलाई साथै लिएर घर फर्कन चाहिन्।
गौरवले स्कुल बन्द नै रहेकाले मामाघरमै बस्ने ईच्छा गरे। गाउँकार्यपालिका सदस्य रहेकी गौरवकी सानीआमा गीता नेपालीसँगै भोलिपल्ट घर आउने सल्लाहपछि गौरवकी आमा तीलकुमारी घर फर्किइन्। त्यसपछि गौरव पनि साथीहरुसँग गोठाला गए।
तर दुर्भाग्य, गौरब घर फर्कने दिन कहिल्यै आउदैन अब। त्यो बिस्फोटमा परेर गौरवले पनि ज्यान गुमाए। जुगारको बोर्डिङ स्कूलको कक्षा ७ मा पढ्ने गौरवको त्यसैदिन दिउँसो रिजल्ट आएको थियो। छोरा राम्रो अंक ल्याएर पास भएको सुन्दा तीलकुमारी निकै खुसी थिइन्। त्यो खबर बेलुका फोनबाट सुनाउने योजनामा थिईन् तीलकुमारी। छोरालाई शुभखबर सुनाउने प्रतिक्षामा रहेकी उनले पहिल्यै अशुभ खबर सुनिन्–छोरो बममा पर्यो भनेर।
‘पढेर ठूलो मान्छे बन्छु भन्थ्यो, राम्रो खाने लाउनेभन्दा पनि पैसा बचाउने भन्थ्यो,’ तीलकुमारीले भावविह्वल हुँदै छोरा सम्झिइन्, ‘जागिर खाएर सुख दिन्छु भन्थ्यो, घटना कसरी भयो, सत्यतथ्य छानबिन गरि न्याय पाउनु पर्छ।’
चारदिन अघि भैंसी मरेको पीडामा थिए ओजबहादुर
गाउँमै खेतीकिसानी गर्थे नोखिराम डाँगीका ४८ वर्षे बुबा ओजवहादुर। गाभिनो भैँसी ४ दिन भएको थियो। भकारमै गाभिनो भैँसी मरेको पीडाले चिन्तित थिए ओजबहादुर। ऋण गरेर किनेको भैँसीले दुध देला भन्ने बेलामा भकारबाटै लतारेर गाड्नु पर्दा कुनचाहिँ किसानको मुटु पोल्दैनथ्यो होला र? उनले यो पीडा जसोतसो बिर्सदै थिए।
तर बैशाख १८ गते बेलुका उनले सपनामा पनि नचिताएको घटना भयो। एकमात्र छोरा नोखिरामको बममा परेर मृत्यु भयो। काम विशेषले गाउँ पुगेका उनी १ घण्टाअघि मात्रै घर आएका थिए। नातिनीलाई बोकेर घरधन्दामा रहेका उनले घरै थर्कने गरि बम पड्किएको आवाज सुने।
बाहिर निस्केर यताउति हेर्दा केही देखेनन्। छिमेककी सम्धिनी चिच्याएजस्तो लाग्यो। छोरीबाहिर निस्केर चिच्याउँदै घटना भएको ठाउँतिर गईन्। काँधमा बोकेकी नातिनीलाई छोरीको नन्दको जिम्मा लगाएर उनी पनि घटना भएको ठाउँतिर लागे।
घटना भएको २० मिनेटपछि त्यहाँ पुगे । थाहा पाए–आफ्नो छोरा पनि त्यही परेको भनेर। हेर्न खोजे। कसैले दिएनन्। ‘छुने हैन, जाने हैन भनेर अरुले भनेपछि म लास भएको ठाउँमा गइन,’ ओजबहादुरले भने, ‘छोराको कोहीसँग कुनै दुस्मनी थिएन। त्यो सानो बच्चाको दुस्मनी हुने कुरा पनि भएन।’
बमको आवाज सुन्नेबित्तिकै सबैभन्दा पहिले घटनास्थल आई पुगेका थिए त्रिवेणी गाउँपालिका ७ का मानसिं डाँगी।
बम पड्केको आवाज र धुलो देखेको स्थानतर्फ अघि बढे उनी। घटनास्थल जाँदाजाँदै प्रहरीको १०० नम्बरमा फोन गरेर घटनाबारे जानकारी दिए। जिल्ला प्रहरी कार्यालय रोल्पाबाट उनलाई फोन गयो। आफ्नो विस्तृत परिचयसहित जानकारी गराए। त्यसलगत्तै ईलाका प्रहरी कार्यालय होलेरीबाट फोन आयो उनलाई।
५ मिनेटभित्र घटनास्थल पुगेका थिए डाँगी। उनी घटनास्थल पुग्दा बाटामा तीन वटा शव देखे। सबै क्षतविक्षत अवस्था थिए। उनले नजिकै एउटा बम पनि देखे। पछि बाटो माथिको खेतमा पनि एउटा शव देखे। यति गर्दासम्म गाउँका अन्य मानिस पनि जम्मा भईसेकेका थिए। बम देख्नेबित्तिकै शवनजिक रहेका सबैलाई टाढा जान भनियो।
त्रिवेणी प्रहरी चौकी होलेरीबाट प्रहरी र गाउँपालिकाका जनप्रतिनिधिहरु आएपछि घटनास्थललाई घेराबन्दी गरे। ‘बम कहाँबाट, कसरी आयो भन्ने कुरा अहिले भन्न सकिँदैन,’ डाँगीले भने।
केही समयअघि क्वारेन्टाईन बसेका करिब २५ जनाको टोली यही बाटो भएर फर्केको थियो। ‘त्यो दिन एक व्यक्तिले गोरु लैजाँदासमेत केही देखनन्, तर पछि बच्चाहरु आएर यसरी पड्कँदा कहाँबाट आयो भनेर केही भन्न सकिने स्थिति छैन’ डाँगीले भने।
अहिले गाउँ पुरै शोकमग्न छ। मर्ने चारै बालबालिका त्यस दिन गोठाला गएका थिए। ‘उनीहरुले बम जंगलमा भेटे वा बाटोमा भन्ने कुरा छानबिनकै विषय छ। यथार्थ बुझिएको छैन, तर निकै दुःखद घटना भयो,’ गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले भने। उनले घटनास्थलमा भेटिएको अर्को बम नेपाली सेनाको विज्ञ टिम आएर डिस्पोज गरेको बताए।
फेला परेको एउटा बमलाई बालबालिकाले खेलाउँदा खेलाउँदै पड्किएको र अर्को हातमै समातेको अवस्थामा फुत्किएर बाटोमा खसेको हुनसक्ने आफूहरुले अनुमान गरेको वलीले बताए। उनले त्यतिबेला गाउँपालिकाको शिक्षा समितिको बैठक बसिरहेको र घटना भएको सुन्नेबित्तिकै आफहरु घटनास्थल पुगेको बताए।
वलीले थप दुर्घटना हुन नदिन सहजताका लागि स्थानीयवासीलाई अपिल गरेको बताए। ‘क्षतिपूर्तिका लागि प्रदेश सरकारका मुख्यमन्त्रीलाई आग्रह गरेका छौं,’ वलीले भने । गाउँपालिकाले तत्कालका लागि किरिया खर्च उपलव्ध गराउने उनले जानकारी दिए। घटना भएलगत्तै प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीसमेत स्थलगत अवलोकनका लागि घटनास्थल आएको उनले जानकारी दिए।
रोल्पाका कुन–कुन ठाउँमा भएका थिए ठूला भिडन्त?
घटनास्थल नजिकको दुम्ला टापे लेकमा द्वन्द्वकालकै अन्तिम लडाइँ भएको थियो। उक्त भिडन्तपछि नेपालको दश वर्ष लामो सशस्त्र युद्ध शान्ति प्रकृयामा प्रवेश गरेको थियो। त्यो भिडन्तमा सरकारी पक्ष र विद्रोही पक्षको ठूलो हताहती भएको स्थानीयहरु बताउछन्। आफ्नो गाउँको आकाशमा नेपाली सेनाको हेलिकप्टरले बम खसालेको ७६ वर्षीय गोवर्धन डाँगीले जानकारी दिए। सो क्रममा नपड्किएका बेवारिसे बमहरु जंगलमा रहेको हुन सक्ने डाँगीले बताए।
सशस्त्र द्वन्द्वपछि रोल्पाका विभिन्न जंगल र ओडारहरुमा यस्ता बेवारिसे बम हुनसक्ने मानव अधिकारकर्मी घनश्याम आचार्यको भनाइ छ। सशस्त्र द्वन्द्वमा रोल्पा तेवाङको लिस्ने, पाङको ऐपे लेक, गाम, स्यूरीको घोगा, सेरम, पोवाङ, जेल्वाङ, उवा, थवाङ, रांकोट, पाछावाङ, कालापोखरा, ईरिवाङ कालापोखरा, सुकिदह, राँकको ताप्ला, पाखापानीको दलसिडे, जिनावाङको मनिमारे, घोरनेटी ओत, गैरीगाउँको दुम्ला, डुव्रिङ, घर्तीगाउँ, भावाङको वाग्मा, जंकोट र भावाङको लेक, कोर्चावाङको हान्निड,कोटगाउँको रिमसक/जंघा, खुमेल, पाटेगुम्चाल लगायतका ठाउँमा ठूला भिडन्त भएका थिए।
शान्ति प्रकृयापछि बेवारिसे बम बिस्फोटमा परि मृत्यु भएका र घाईतेहरु
सशस्त्र द्वन्द्वमा बेवारिसे छाडिएका बमका बारेमा बालबालिकालाई सचेतिकरण गर्ने काम भए पनि त्यसले निरन्तरता नपाउँदा जिल्लामा यसको मारमा बालबालिका परेको आचार्यको भनाइ छ। ‘शान्ति प्रकृयापछि जन्मिएकाहरुलाई द्वन्द्वका बारेमा जानकारी नहँुदा पनि बालबालिकाहरु घटनामा परेका हुन सक्छन्’ आचार्यले भने।
बालबालिकाहरुको बाँच्ने हक गुम्दै गएको पत्रकार तथा अधिकारकर्मी खेम बुढामगरको भनाइ छ। ‘युद्ध सकिए पनि रोल्पाली अझै मरिरहनु पर्ने कहिले सम्म हो?’ बुढाले प्रश्न गरे।
स्थानीय शान्ति समितिको पूर्व संयोजकसमेत रहेका बुढाका अनुसार द्वन्द्वका क्रममा रोल्पाका ९६९ जनाले ज्यान गुमाएका थिए भने ३३ जना अझै बेपत्ता छन्।
ठूलो मात्रामा भेटिन्छन् हतियार
द्वन्द्वको समयमा छाडिएका बिस्फोटक पदार्थ भेटिने, सर्वसाधारणको जिउ ज्यानको जोखिम हुने तथा सर्वसाधारणमा त्रास उत्पन्न भई शान्ति सुरक्षा तथा अमनचैनमा असर परेको जिल्ला प्रशासन कार्यालय रोल्पाको भनाइ छ।
गत असोज ११ गते जिल्लाको परिवर्तन गाउँपालिका १ कुरेली भित्रिवन पुवाखोलामा भारी मात्रामा सशस्त्र द्वन्द्वकालीन हतियार फेला परेको थियो। गोठमा लुकाई राखेको अवस्थामा बम, ह्यान्डग्रीनेड, एलएमजी व्यालेट ६ थान, म्यागनम व्यारेल १ थान, इम्प्रोभाईजर वन्दुक १ थान, इम्प्रोभाईजर मोर्टार एक थान फेला परेको थियो।
यस्तै, एम १६को लाईभ राउण्ड चार हजार १ सय ९१ वटा, एटीवान खाली गोली एक सय ३९ थान, एटीवान लाइभ वम ११ थान फेला परेको थियो । यसैगरी, फोर्टिएमएच बम खाली तीन थान, ग्रीनेड–३६ तीन थान, डेटेनेटर, फोर्टी एमएचई बमलगायत भारी मात्रामा हतियार फेला परेको थियो।
यसैगरी, गत फागुन १८ गते थवाड गाउँपालिका ३ मिरुल टुटुस्थित कुवारी सामुदायिक वनको जंगलमा २ बोरा बिस्फोटक पदार्थ फेला परेको जिल्ला प्रशासन कार्यालय रोल्पाले सर्वसाधारण नागरिकका लागि जारी गरेको अपिलमा उल्लेख छ।
(स्थलगत भ्रमणबाट फर्केपछि)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।