काठमाडौं- अमेरिकी इलेक्ट्रिक कार उत्पादक टेस्लाले चीनमा प्लान्ट स्थापना गरेरै कार उत्पादन थालेको छ। टेस्लाले ठूलो लगानीसहित चीनको सांघाईमा प्लान्ट स्थापना गरेर उत्पादन थालिसेकको छ।
उक्त प्लान्टबाट जुनदेखि उत्पादन बजारमा आउने छ। टेस्लाले चीनमा मोडल ३ सार्वजनिक गरेसँगै चिनियाँ कम्पनीले प्रतिस्पर्धी मोडल ल्याएको छ।
चीनको ग्वाङझाउमा रहेको एक्सपिङ मोटर्सले टेस्ला मोडल ३ सँग प्रतिस्पर्धा गर्ने गरी नयाँ मोडल सार्वजनिक गरेको हो। कम्पनीको पी७ सेडान कार एक्सपङिको दोस्रो कार हो। यो कारले एक पटकको फुल चार्चमा ४ सय ४० माइल अर्थात ७ सय ४ किलोमिटर माइलेज दिन्छ। पी७ को मूल्य २ लाख ५४ हजार ९ सय युआन (३६ हजार अमेरिकी डलर) पर्ने छ। यो मूल्य सरकारी सहुलियतपछि निर्धारण भएको हो। कम्पनीले यो मोडल गत सोमबार सार्वजनिक गरेको थियो।
टेस्लाको मोडल ३ जुनदेखि चिनियाँ बजारमा बिक्रीका लागि उपलब्ध हुनेछ भने एक्सपिङको पी७ सेप्टेम्बरमा मात्र बजारमा आउने कम्पनीले जनाएको छ। चीनमा उत्पादन भएको टेस्ला मोडल ३ ले एक पटकको फुल चार्जमा ६ सय ५० किलोमिटर माइले दिन्छ भने यसको मूल्य ३ लाख ४४ हजार ५० युआन तोकिएको छ।
चिनियाँ इलेक्ट्रिक कार उत्पादकले पी७ मूल्यका हिसाबले मात्र होइन विशेषता र प्रविधिमा समेत प्रतिस्पर्धी रहेको जनाइएको छ। टेस्ला विश्वकै ठूलो इलेक्ट्रिक कार उत्पादक कम्पनी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।