काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेको बताएका छन्। बैठकमा सहभागी भएर बाहिरिने क्रममा पत्रकारहरूलाई बैठकका निर्णयबारे जानकारी गराउँदै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्।
'आजको बैठकले पार्टीका आन्तिरक जीवनमा देखापरेका संकट सम्बोधन गर्न एकतावद्ध हुने र पार्टी एकता कमजोर बनाउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन निर्देशन गर्ने निर्णय भएको छ। प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्नु भएको छ। त्यहीअनुसार अरु कमरेडहरू पनि आत्मालोचित हुनुभएको छ,' प्रवक्ता श्रेष्ठले भने।
बैठकमा उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ। यसैगरी यही वैशाख २५ गते ११ बजेका लागि स्थायी कमिटीको बैठक बोलाउने र त्यसको तयारीका लागि २४ गते दिउँसो ३ बजे सचिवालयको बैठक बस्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सचिवालय बैठकले स्थायी कमिटीको बैठकका लागि एजेण्डा तय गर्ने श्रेष्ठले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।