काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपयुक्त समयमा उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उपाध्यक्षलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए।
यसका साथै सोही बैठकले यही बैशाख २५ गते ११ बजे स्थायी कमिटीको बैठक बोलाउने र त्यसको तयारीका लागि २४ गते दिउँसो ३ बजे सचिवालयको बैठक बस्ने निर्णय भएको पार्टी प्रवक्ता श्रेष्ठले उल्लेख गरे।
सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना समेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि आपत्ति जनाउँदै उनको राजीनामा माग गरिएको थियो। ओलीविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम एक ठाउँ उभिएका थिए।
विवाद नमिलेपछि शनिबार फेरि बैठक बस्ने निर्णयानुसार शनिबार सचिवालय बैठक बसेको हो। सचिवालय बैठकअघि प्रधानमन्त्री ओली आफूविरुद्धको मोर्चाबन्दीभित्र खेल्न सफल भएका छन्। योसँगै ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गराउने पक्षमा देखिएका सचिवालय सदस्यहरुबीच नै मत बाझिएपछि तत्काललाई राजीनामा टरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।