काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक बैसाख २५ गते बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका हुन्।
२५ गते बिहान ११ बजे काठमाडौंमा बस्ने बैठकअघि २४ गते पार्टी सचिवालयको बैठक बोलाइएको छ। सचिवालय बैठकले स्थायी कमिटी बैठकमा प्रस्ताब गरिने एजेन्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना समेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। यसैगरी उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको प्रवक्ता श्रेष्ठको भनाइ छ।
बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि आपत्ति जनाउँदै उनको राजीनामा माग गरिएको थियो। ओलीविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम एक ठाउँ उभिएका थिए।
विवाद नमिलेपछि शनिबार फेरि बैठक बस्ने निर्णयानुसार शनिबार सचिवालय बैठक बसेको हो। सचिवालय बैठकअघि प्रधानमन्त्री ओली आफूविरुद्धको मोर्चाबन्दीभित्र खेल्न सफल भएका छन्। योसँगै ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गराउने पक्षमा देखिएका सचिवालय सदस्यहरुबीच नै मत बाझिएपछि तत्काललाई राजीनामा टरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।