काठमाडौं- अमेरिकामा महिला फुटबल खेलाडीले आफूलाई पुरुष खेलाडीको तुलनामा कम तलब दिएर विभेद गरेको भन्दै गरेको मागदाबी न्यायाधीशले खारेज गरिदिएका छन्।
२८ जना महिला खेलाडीले अमेरिकी फुटबल संघविरुद्ध गएको वर्ष आफूहरुलाई कम तलब दिएको भन्दै मुद्दा हालेका थिए। अमेरिकामा रहेको समान तलबसम्बन्धी ऐनका अनुसार उनीहरुले आफूहरुमाथि विभेद भएको बताएका थिए।
अहिले न्यायाधीशले उक्त मुद्दा खारेज गरिदिए पनि त्यस्तो निर्णयविरुद्ध अपिल गर्ने तयारी गरेको खेलाडीहरुका प्रवक्ता मोली लेविन्सनलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ।
खेलाडीहरुले समान तलबसम्बन्धी ऐनमा उल्लेख भएको व्यवस्थाअनुसार नहुने गरी आफूहरुले कम तलब पाइरहेको भन्दै ६६ मिलियन डलर क्षतिपूर्तिको मागदाबी गरेका थिए। तर न्यायाधीशले मुद्दा खारेज गर्दै फुटबल संघका पक्षमा फैसला गरिदिएको छ।
अदालतले फैसलामा ‘पुरुष टिमका खेलाडीको तुलनामा औषत खेल र अन्य आधारलाई हेर्दा महिला टिमका खेलाडीले नै बढी तलब पाइरहेको’ उल्लेख गरेको छ।

अमेरिकी महिला फुटबल टिम अहिले विश्वकप विजेता टिम हो। चार वटा विश्वकप उपाधिसँगै महिला टिमले पाँच पटक ओलम्पिक स्वर्ण पदक पनि जितेको छ।
अदालतको त्यस्तो निर्णयमा खेलाडी मेगन रापिनोले दुःख लागेको बताउँदै बराबरको हकका लागि आफूहरु अझै पनि लडिरहने बताएकी छिन्। रापिनो तिनै खेलाडी हुन् जसले गएको महिला विश्वकपमा गोल्डेन बल र गोल्डेन बुट दुवै जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।