काठमाडौं- नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। पार्टीभित्र रहेका तीव्र विवाद समाधानका लागि बसेको बैठकको अवस्था परिवर्तित छ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आसन बराबरी बनाइएको छ। यसअघि प्रधानमन्त्री ओली फरक आसनमा छुट्टै बस्ने गरेका थिए।

बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि आपत्ति जनाउँदै उनको राजीनामा माग गरिएको थियो। ओलीविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम एक ठाउँ उभिएका थिए।
विवाद नमिलेपछि शनिबार फेरि बैठक बस्ने निर्णयानुसार आज सचिवालय बैठक बसेको हो। सचिवालय बैठकअघि प्रधानमन्त्री ओली आफूविरुद्धको मोर्चाबन्दीभित्र खेल्न सफल भएका छन्। राजीनामाको मागबाट नेकपाका शीर्ष नेताहरु ब्याक हुने संकेत देखिएको छ। ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गराउने पक्षमा देखिएका सचिवालय सदस्यहरुबीच नै मत बाझिएपछि तत्काललाई राजीनामा टरेको छ।
उनीहरुको पावर सेयरिङमा कुरा मिल्ने संकेत देखिएको छ। असन्तुष्टलाई उपयुक्त पद व्यवस्थापन गरेर विवाद टुंग्याउने तयारी प्रधानमन्त्री ओलीले गरेका छन्। योबीचमा बहुमत सचिवालय सदस्य आफ्नो पक्षमा ल्याएका छन्।
प्रधानमन्त्री ओलीविरुद्ध बनेको नेकपा शीर्ष नेताहरुको समूहबाट सचिवालय सदस्य झलनाथ खनाल, रामबहादुर थापा बादल र उपाध्यक्ष बामदेव गौतम राजीनामा गराउन नहुने पक्षमा उभिएका छन्। केही समयअघि भैंसेपाटी भेलातर्फ देखिएका महासचिव विष्णु पौडेलले ओलीका पक्षमा लाइन क्लिएर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।