एजेन्सी–उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा सहभागी भएको दाबी गरेको छ। सरकारी समाचार समिति केसीएनएले नेता किमले मल कारखाना उद्घाटन गर्न रिबन काट्दै गरेको तस्बिर सार्वजनिक गरेको हो।
तीन सातासम्म सार्वजनिक रुपमा देखा नपर्दा किम गम्भीर रुपमा बिरामी भएका वा मृत्यु भएको सम्मका आशंकाहरु गरिएका थिए। गत १२ अप्रिलयता उनी कुनै पनि सार्वजनिक समारोहमा देखा परेका थिएनन्। तर यसरी लामो समयसम्म सार्वजनिक नहुने घटना किमका लागि नौलो भने होइन।
किमले शुक्रबार सुन्चोन फोस्फाटिक मल कारखानाको भ्रमण गरेको दक्षिण कोरियाली समाचार समिति योनहापले जनाएको छ। किमको उक्त भ्रमणबारे उत्तर कोरियाको सरकारी टेलिभिजनले पनि समाचार प्रसारण गरेको थियो ।
मे दिवसका अवसरमा किमले कारखाना अवलोकन गरेको जनाइएको छ।
किम देखा परेको विषयमा भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारेमा कुनै प्रतिक्रिया दिन नचाहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।