इटहरी- कोसी अस्पतालको गेटनजिकै लामो लाइन छ। यो अस्पतालमा आउने बिरामीको लाइन होइन। सामाजिक दुरी कायम गरी खाना दिने र खानेको लाइन हो। खान आउने जाने भइरहन्छन्। छेउमा खाना पोको पार्नेहरुको छुट्टै लाइन छ। बिहीबार त्यही लाइनमा देखा परे कांगेस केन्द्रीय सदस्य डा. शेखर कोइराला।
कोइराला निवास छेउमा भव्य कार्यक्रम आयोजना भएजस्तै माहोल थियो। तर त्यो कुनै भव्य समारोह नभएर मजदुरलाई खाना खुवाउन तयार पारिएको स्थान हो।
नेपाली कांग्रेस प्रदेश १ कि सांसद बिन्दिया कार्की पनि खाना प्याक गरिरहेकी थिइन्। सांसद कार्कीको नेतृत्वमा २५ दिनदेखि मजदुरलाई खाना खुवाउने क्रम जारी छ। उनी संगै तरुणदलका अन्य नेताहरुले पनि अभियानमा साथ दिइरहेका छन्।
‘लकडाउनलगत्तै जनताले फोन गरेर तपाईं त माननीय हो। सहयोग गर्नुपर्यो भने। सरकारसँग केही पहल गरिदिनु पर्यो भन्दै फोन आउन थाल्यो,’ अभियानबारे कार्कीले सुनाइन्, ‘सरकारसँग के माग्ने जस्तो लाग्यो। त्यसपछि आफै गरिबका घरमा गएर हेर्दा बिजोग देखेँ। अनि सक्दो राहत वितरण सुरु गर्न थाल्यौं।’
सरकारले पहिलो १ साता पछि १० दिनको लागि थपेको लकडाउनबाट धेरै मजदुरको चुलो बल्न छाडिसकेको थियो। सरकारले ५ जना र १० जनाको परिवारलाई बराबर राहत वितरण गरिरहेको थियो। १० जना सदस्य हुने परिवारमा समस्या पर्न थालिसकेको थियो। त्यसैबीचमा कार्कीले घरैमा पुगेर राहत वितरण सुरु गरिन्। जुन कुरा बाहिर हल्ला हुन थाल्यो। त्यसपछि हामी पनि दिन्छौँ भन्दै अन्य नेता तथा व्यापारीले सम्पर्क गर्न थाले।
कोसी अस्पतालका बिरामी कुरुवालाई खाना खुवाउने अभियान सुरु गर्ने योजना बनाइन्। सोही योजनाअनुसार नै तरुण दलले सहयोग गर्ने भयो। केही युवाहरुसमेत सो अभियानमा सामेल भए। विभिन्न व्यापारी तथा दाताको सहयोग जुट्न थाल्यो। अस्पतालको गेट नजिकै खाना वितरण सुरु भयो। जहाँ एम्बुलेन्स चालकदेखि अस्पतालका कर्मचारीले समेत खाना खान पाएका छन्। दैनिक ३ सय नागरिकले खाना खाने गरेको कार्कीको भनाइ छ।
कोरोना संक्रमण फैलिरहेको बेला अस्पतल आफैमा जोखिमयुक्त क्षेत्र हो। त्यही जोखिमका बिचमा मजदुर तथा बिरामी कुरुवाको सेवामा लागेकी छन् कार्की। 'सुरुमा अभावमै अभियान सुरु गरेपनि पछिल्लो समय राहत सामग्री जुट्न थालेको छ। रोग लाग्ला कि भनेर बस्दा खान नपाएर मर्लान् भन्ने पिरले अभियान थालेका हौं,' उनले भनिन्।
अस्पताल भित्रको चमेना गृहमा सबैले खान सक्ने अवस्था छैन। अस्पतालका सुरक्षा गार्ड, सरसफाई कर्मचारी र अन्य मजदुरहरुको लागि कुनै व्यवस्था छैन। त्यही समस्यामा कार्कीलगायतको अभियानले ठूलो सहयोग पुर्याएको छ।
सडकमा खटिएका प्रहरी जवानलाई खाजा खुवाउने काम पनि भइरहेको छ। कार्कीले आफ्नो व्यक्तिगत खर्चमा प्रहरीको सेवा गरेको बताइन्। चर्को घाममा मास्क बिनै सुरक्षामा खटिएका प्रहरीलाई मास्क, खाजा र पानी वितरण गरिरहेकी छिन्।
‘घर परिवारबाट यस्तो अवस्थामा नहिँड्न दबाब आइरहेको छ। तर मैले बाँचेँ भने राजनीति गरौंला। तर अहिले अरुलाई बचाउनुपर्छ भनेर सम्झाउँछु,’ उनी भन्छिन्, ‘आफूहरुको सानो प्रयासले दैनिक सयौँ मजदुरले खान पाएका छन्। उनीहरु बाचेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।