इटहरी- पूर्व-पश्चिम राजमार्गबाट ५ किलोमिटर दक्षिणतर्फ लहरै ईंटा उद्योग छन्। सबै उद्योगमा अधिकांश भारतीय नागरिक श्रमिक छन्। हिमालय ईंटा उद्योगको गेटकै छेउमा ईंटा बनाउने काम धमाधम छ। उनीहरूसँगै एक बालक पनि काममा भिडिरहेका छन्। उनको पढ्ने रहरलाई पारिवारिक बाध्यताले खिचेको छ। दैनिक रोजीरोटीमै समस्या परेपछि बाबुआमासँगै ईंटाभट्टामा काम गर्नेहरू पनि छन्।
उनीहरूको समूहभन्दा अलि परतिर महिलाहरूको एउटा समूह काममा व्यस्त थियो। ठेलामा ईंटा ओसारिरहेका थिए। सलले नाकमुख छोपेका उनीहरू बोल्न डराउँछन्। नेपालीमा बोल्न खोज्दा ‘नही समझते हे’ मात्र भन्छन्। थप बोल्दैनन्। बरु हाँसेर उत्तर दिन्छन्। बोल्नमा भन्दा बढी काममै ध्यान छ उनीहरुको। सकेसम्म बोल्न नपरोस् भन्ने उनीहरूको चाहना बुझ्न कठिन थिएन।
ईंटा भट्टामा काम गर्नेहरूको आफ्नै संसार छ। नेपाली बुझे पनि बोल्न असहज लाग्छ उनीहरूलाई। बोलीहाले पनि एक दुई शब्दा भन्दा बोल्न चाहन्नन्। हिन्दी भाषा बोलीचालीको भाषा हो उनीहरूको। नयाँ मान्छेसँग धेरै खुल्दैनन्। काममा बढी मतलब राख्छन् उनीहरू, बोल्नमा कम।
गोविन्द वर्मन भारतको पश्चिम बंगाल राज्यबाट आएका रहेछन्। दुई वर्षदेखि ईंटा बनाउने काम गरिरहेका छन् उनी। उनी साथीहरूसँग मिलेर काम गर्ने स्थानको छेउमै छाप्रो हालेर बसेका छन्। उनकी श्रीमती दिप्ती वर्मन र छोरी अनुश्री पनि सँगै बस्छन्। बंगालमा एक छोरा र गोविन्दका बाबुआमा बस्छन्।
छाप्राको एक डिल तल उनी काम गरिरहेका छन्। ईंटा बनाउने माटो मुछिरहेका छन् दुवैजना। छोरी अनुश्री छाप्रोभित्र खाना बनाउने तयारी गर्दै थिइन्। केही छिनमै छोरी बाहीर आइन्। उनकै भाषामा तरकारी सकिएको बताइन्। आलुमा झोल हाल्ने सहज उपाय बताइदिए गोविन्दले। उनले त्यसैको तयारी गरिन्।
घाम झुल्कन नपाई काममा पुगिसक्छन् उनीहरू। अफिसियल कुनै समय छैन। बिहान उज्यालो हुनेबेलादेखि रात नपरुन्जेल काम गर्ने समय हो। बंगालमा रोजीरोटी नभएरै उनी नेपाल छिरेको बताउँछन्। बंगालमा खेती गर्नुपर्ने र त्यो पनि भरपर्दा नभएकोले नेपाल आएको उनी सुनाउँछन्। नेपालमा कमाई पनि बढी हुने र बचत पनि हुने उनको भनाइ छ। अघिल्लो वर्ष एक्लै आएर काम गरेका उनी यसपटक भने परिवारसहित काम गरिरहेका छन्।
प्रतिगोटा ईंटाको मूल्य पाउने भएकोले सक्दो धेरै इँटा बनाउँछन् उनीहरू। श्रीमानश्रीमती दुवै जनाले काम गर्दा धेरै बचाउन सकिने उनी बताउँछन्। दैनिक ८ सयसम्म कमाउन सकिने उनी सुनाउँछन्। एउटा इँटा तयार भइसक्दा उनले एक रुपैयाँ पाउँछन्। दैनिक गोटागन्तीले हिसाब बुझ्छन् उनीहरू। दैनिक धेरैभन्दा धेरै ईंटा बनाउनु उनको बाध्यता छ। गोविन्द आफ्नो काममा धेरै खुसी छन्।
कुनै पनि ठूला सपना देखेका छैनन् उनले। छोराछोरी लाई ठूलो मान्छे बनाउने ठूलो सपना छ उनीसँग। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीका भोटर्स रहेछन्। बेनर्जीबाट निकै प्रभावित रहेछन् गोविन्द।
बेनर्जीको आँट र साहसको बहुत तारिफ गर्छन् उनी। कुन पार्टीलाई भोट गरेको उनलाई थाहा छैन। तर ममता बेनर्जीलाई भोट दिएको उनलाई याद छ। आफ्नै देशमा रोजगारी उपलब्ध नभए पनि मुख्यमन्त्री बेनर्जीसँग उनको गुनासो छैन। एकै पटक करोडौं मानिसलाई राजगारी दिन असम्भव हुने उनको बुझाइ छ। तर बेनर्जीप्रति उनको भरोसा डगमगाउनेवाला छैन।
आफ्नी छोरीलाई पनि बेनर्जीजस्तै बनाउने उनको चाहना छ। कक्षा ६ मा पढ्ने छोरी अनुश्री भर्खरै परीक्षा दिएर आएकी हुन्। कक्षामा उनको स्थान चौथो भएको खबर आएछ। त्यसले गोविन्द पुरै हर्षित छन्। ५० जनामध्ये छोरी चौथो भएकोमा उनी खुसी व्यक्त गर्छन्। उनको अनुहारमा छुट्टै उर्जाको रक्तसंचार हुन्छ।
छोरी गोविन्दको ठूलो सपना हुन्। अहिलेको जमनामा छोराले भन्दा छोरीलेनै केही गर्नेमा उनी विश्वस्त छन्। त्यो विश्वाशको मुख्य श्रोत मुख्यमन्त्री बेनर्जी हुन्। छोरीलाई पनि मुख्यमन्त्री बनाउने गोविन्दको सपना छ। एक ईंटाभट्टामा काम गर्ने मजदुरको लागि यो ठूलो सपना हो। तर असम्भव भने हैन। ‘हमारा सबकुछ यही बेटी हे। बेटाको भरोसा नहीँ। हमारा बेटीको ममता बेनर्जी बनाना चाहते हुँ,’ उनको मुहारमा खुशी भरियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।