काठमाडौं- विश्वव्यापी महामारीको रुप लिइरहेको कारोना भाइरस (कोभिड–१९)का विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको बागमती प्रदेश र प्रदश नं. ५ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा गान्सु प्रान्त सरकारका प्रतिनिधि होङ्ग होङ्गले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा मन्त्रालयका सचिव केदारवावु अधिकारीलाई २० हजार थान सर्जिकल मास्क र एक हजार थान पिपिई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा मन्त्री भट्टराइले कोरोना विरुद्धको लडाईं जित्नका लागि प्राप्त स्वास्थ्य सामग्रीले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। यो खालको सहयोगले नेपाल–चीनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै दुई देशका जनताबीचको सम्बन्धलाई पनि प्रगाढ बनाउने मन्त्री भट्टराईले बताए।
मन्त्रालयका सचिव अधिकारीले प्राप्त सहयोगका लागि सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्दै यसबीचमा चीन सरकारका विभिन्न तहबाट प्राप्त सहयोगको पनि प्रशंसा गरे।
यसैगरी, गान्सु प्रान्त सरकारका प्रतिनिधि होङ्गले आफ्नो सरकारका तर्फबाट यो पहिलो सहायता भएको उल्लेख गर्दै आवश्यकता अनुसार थप सहयाग गर्दै जाने बताए। चीनबाट सुरु भएको कोरोनाको प्रकोप अहिले विश्वव्यापी भइसकेको सन्दर्भमा आफूहरुले यसबाट प्रभावित देशहरुलाई सक्दो सहयोग गर्न चाहिरहेको उल्लेख गर्दै उनले कोरोना विरुद्धको यो लडाईं जित्न थप सहयाेग चाहिएमा खुलस्त भन्न आग्रह गरे।
उनले भने, ‘नेपाललाई यो महामारीबाट हुनसक्ने धनजनको क्षतिबाट बचाउन थप सहयाेग चाहिए खुलस्तरुपमा भन्नुहोला, हामी सहयोगका लागि तयार छाैं।’ यस्ता महामारी र प्रकोप मानिसको नियन्त्रणमा नहुने उल्लेख गर्दै उनले मानव–मानवबीचको सद्भाव कायम राख्न र दुई देशबीचको प्रगाढ सम्बन्धलाई अझ सुदृढ बनाउने निरन्तरताका रुपमा यो सहयोग प्रदान गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।