काठमाडाैं- नेपाली कांग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे अवस्थामा रहेको बम बिस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरेर उक्त घटनाले आफ्नो पार्टीसँगै सिङ्गो देश मर्माहत भएको उल्लेख गर्दै त्यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार भएकाे बम बिस्फाेटमा त्रिवेणी गाउँपालिका-७ का १४ वर्षीय लाेकीराम डाँगी, ११ वर्षीया बिमला डाँगी, ५ वर्षीय विजय खत्री र साेही गाउँपालिका-४ का १३ वर्षीय गाैरव नेपालीकाे मृत्यु भएकाे थियाे।
'द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बाँकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ। यसले हिंसाबाट समाधान खोज्न चाहने सबै थरिलाई हृदयदेखि गम्भीर र आत्मआलोचित बनाउने अपेक्षा छ,' शर्माद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, 'एक मात्रै पनि निर्दोष नागरिकको मृत्यु सामान्य कुरा होइन। त्यसमा पनि ४ नाबालकको बिस्फोटमा मृत्यु हृदयविदारक छ।'
कांग्रेसले बिस्फोटमा जीवन गुमाउने बालबालिकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै यो कारुणिक पीडाको घडीमा सम्बन्धित परिवारजनमा समवेदना व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।