एजेन्सी–मार्चको अन्तिम सातातिर कोपरनिकस एटमोस्फेयर मनिटरिङ सर्भिसका वैज्ञानिकहरुले आर्कटिक क्षेत्रको आकाशमा एउटा ठूलो खाली स्थान देखे। अहिलेसम्म वायुमण्डलमा यति ठूलो खाली स्थान कहिल्यै देखिएको थिएन।
बिस्तारै यो प्वालले झन् ठूलो रुप लियो। उत्तरी गोलाद्र्धमा यति ठूलो खाली स्थान देखिएको अहिलेसम्म वैज्ञानिकहरुलाई थाहा थिएन। यसको आकार ग्रिनल्याण्डजत्रै थियो।
२३ अप्रिलमा एउटा राम्रो खबर आयो। कोपरनिकस एटमोस्फेयर मनिटरिङ सर्भिस (सीएएमएस)ले ट्वीटरमार्फत् उत्तरी गोलाद्र्धको ओजोनमा देखिएको उक्त प्वाल बन्द भएको जानकारी दियो।
ओजोन यति महत्वपूर्ण किन?
खासमा ओजोन तहले सूर्यको हानिकारक किरण पृथ्वीमा आउन दिँदैन। पृथ्वीको अधिकांश ओजोन यसको वायुमण्डको माथिल्लो तह अर्थात् समताप मण्डलमा छ।
पृथ्वीबाट १० देखि ४० किलोमिटरमाथि रहेको ओजोनो तहले पृथ्वीलाई परावैजनी विकिरणबाट बचाउँछ।
यही ओजोनमा प्वाल पर्यो भने हिउँ पग्लग्ने क्रम बढ्न सकछ र पृथ्वीका प्राणीको प्रतिरोधी क्षमतामा ह्रास आउन सक्छ र मानिसमा क्यान्सर तथा रतन्धोजस्ता रोग लाग्न सक्छ।
सीएएमएसका अनुसार आर्कटिक क्षेत्रको वायुमण्डलमाथिको ओजोन तहमा स–साना प्वाल पाइसकिएका छन्। तर पछिल्लोपटक देखिएको प्वाल भने निकै ठूलो थियो, जुन वैज्ञानिकहरुलागि चिन्ताको विषय बनेको थियो।
प्वाल देखिएर कसरी गायब भयो?
सीएएमएसका अनुसार आर्कटिमाथि देखिएको र तीव्र रुपमा आकार बढेको उक्त प्वाल असामान्य मौसमको परिणाम थियो। जब तीव्र हावा हिउँका पहाडमाथि जमेको हावामा लगातार केही दिनसम्म फँस्छ, वैज्ञानिकहरुको शब्दमा एक ‘पोलार भोर्टेक्स’ निर्माण हुन्छ।
यो तीब्र दबाब आफ्नै वरिपरि घुम्छ। यसको यति दबाब हुन्छ कि यसले ओजोनमै प्वालसमेत पार्छ। यद्यपि पछिल्लोपटक देखिएको प्वाल बन्द भएको छ। तर वैज्ञानिकहरुका अनुसार त्यस्तै मौसम भयो भने यो प्वाल पुनः खुल्न सक्छ।
सीएएमएसका अनुसार आर्कटिकमाथि देखिएको यो प्वालको सम्बन्ध हाल कोरोना भाइरसका कारण लगातार गरिएको लकडाउनसँग कुनै सम्बन्ध छैन। त्यो प्वाल त तीव्र हावा र लामो समयदेखि बनेको पोलार भोर्टेक्सका कारण बनेको हो। उक्त प्वाल ओजोन तहमा आइरहेको गिरावटको एक लक्षण हो । यो वार्षिक प्रणालीका कारण आफैं बन्द भएको थियो। तर यो स्थायी समाधान होइन। यद्यपि, ओजोन तहमा सुधारचाहिँ आइरहेको छ, तर बिस्तारै।
अन्टार्टिकामाथिको प्वाल भने कायमै
उत्तरी ध्रुवमाथिको ओजोन तहमा देखिएको प्वाल एक दुर्लभ घटना मानिएको छ। तर अन्टार्टिकामाथि ३५ वर्षदेखि हरेक वर्ष योभन्दा ठूला प्वाल बारम्बार देखिँदै आएका छन्।
सन् १९९६ मा क्लोरोफ्लोरोकार्बनको प्रयोग बन्द भएको थियो। त्यसपछि अन्टार्टिकामाथिको ओजोनमा केही सुधार आउन थालेको थियो। क्लोरोफ्लोरोकार्बनजस्ता रसायनको प्रयोग एयरोसोल स्प्रे, फोम, सल्भेन्ट र रेफ्रिजेरेन्ट्स बनाउन प्रयोग हुन्छ। विश्व मौसम संगठन (डब्लुएमओ)का अनुसार अन्टार्टिकामाथिको ओजोनमा देखिएको प्वाल सन् २००० यता एक देखि तीन प्रतिशतसम्म सानो भइसकेको छ। यद्यपि यो प्वाल पूर्ण रुपमा बन्द हुन सन् २०५० सम्म कुर्नुपर्ने वैज्ञानिकहरुको भनाइ छ। बीबीसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।