काठमाडौं- कोरोना भाइरस संक्रमण फैलन सक्ने जोखिम भएको भन्दै स्थगति गरिएका कक्षा १० र १२ को परीक्षा सञ्चालनका बारेमा अध्ययन गर्न गठित समितिले यी दुवै कक्षाका परीक्षा एकैदिन संचालन गर्न सकिने सुझाव दिएको छ।
स्थगित परीक्षा सञ्चालनबारे अध्ययन गर्न राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल संयोजकत्वमा गठित समितिले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बिहीबार प्रतिवेदन बुझाउँदै यस्तो सुझाव दिएको हो। हालकै जस्तो अवस्था रहेमा असार पहिलो सातामा यी परीक्षा सञ्चालन गर्न सकिने सुझाव दिएको हो।
समितिले दुवै कक्षाका परीक्षा एकै दिन बिहान र दिउँसो परीक्षा गर्न सकिने सुझाव दिएको छ। तर, त्यस अघि विभिन्न वटा निकायबाट मञ्जुरी जरुरी हुने प्रतिवेदनमा उल्लेख छ।
यस अघि तोकिएका १ हजार ९ सय ९५ परीक्षा केन्द्र अन्तर्गत उपकेन्द्रहरु बनाएर विद्यार्थीलाई घर पायक पर्ने गरी परीक्षा गर्न सकिने प्रतिवेदनमा सिफारिस गरिएको छ। ५ सय भन्दा धेरै विद्यालयमा अहिले क्वारेन्टाइन बनाइएकोले परीक्षाअघि ती विद्यालयहरुको निर्मलीकरण गर्न जरुरी रहेको पनि प्रतिवेदनमा सिफारिस गरिएको छ।
अवस्थाबाट जेठ अन्तिमसम्ममा जनजीवन सामान्य बन्न सक्ने आँकलनसहित समितिलेले परीक्षा केन्द्रहरूमा स्वास्थ्य सचेतता अपनाउँदै असारको पहिलो साता परीक्षा गर्न सकिने निष्कर्ष निकालेको हो।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बिहीबार नै सबै शिक्षा विकास तथा समन्वय ईकाइलाई परीपत्र गर्दै थप उपकेन्द्र निर्धारण गर्न सकिने मापदण्डबारे अध्यन गरी विवरण पेस गर्न पत्राचार गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।