काठमाडौं- थर्मल गनमा कालोबजारी गर्ने सुलभ अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंमा न्यायाधीश ब्रजेशकुमार प्याकुरेलको इजलाशले उनलाई साढे २५ लाख धरौटीमा रिहा हुने आदेश गरेको हो।
अग्रवालको पक्षबाट वरिष्ठ अधिवक्ता लव मैनाली, कृष्ण सापकोटा र पर्शुराम कोइरालाले बहस गरेका थिए। बिहीबार अधिवक्ताहरु रमणकुमार कर्ण, ओमकुमार दाहाल र कमलेश सुवेदीले बहस गरे। अन्ततः अदालतले उनलाई धरौटीमा रिहा हुने आदेश दिएको हो।
सार्वजनिक पद धारण गरेको व्यक्तिलाई थप डेढी सजाय हुने व्यवस्था अनुरुप अग्रवालविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंको क्षेत्राधिकारमा पुगेको थियो। अग्रवाल अवैतानिक वाणिज्य दूतसमेत भएकाले थप सजाय माग गर्दै जिल्ला अदालतमा मंगलबार मुद्दा दायर भएको थियो।
अग्रवाल कीर्गिस्तानका अवैतानिक दूत थिए। आइतबार काठमाडौं प्रहरी परिसर टेकुले अग्रवालविरुद्ध अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा बुझाएको थियो।
प्रहरीले उनको साथबाट बरामद भएको स्वास्थ्य सामग्री जफत गरी १५ लाख ७८ हजार ९ सय १३ रुपैयाँ जरिवाना भराउन प्रहरीले सिफारिस गरेको थियो।
अग्रवाललाई २५ चैतमा महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले थर्मल गन कालोबजारी गरेको आरोपमा नक्सालबाट पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।