काठमाडौं– सत्ता बाहिर रहेका विपक्षी दलले सरकारका विरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलको संयुक्त बैठकले लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिदै सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेको छ। बैठकले सरकारको प्रवृत्तिविरुद्ध एकताबद्ध भई संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
तत्कालीन समाजवादी दलका सांसद डा सुरेन्द्र यादवको सरकारको समेत संलग्नतामा अपहरण गरिएको आरोप बैठकले लगाएकाे छ। सरकार अधिनायकवादी दिशामा अघि बढेको औंल्याउँदै बैठकले अपराधमा संलग्न व्यक्तिहरुलाई कानुनी कारबाही गर्न माग गरेकाे छ।
अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र ठोस कार्ययोजना सरकारले दिन नसकेको बैठकले ठहर गरेको छ। न्यूनतम आवश्यकता पूर्ति गर्ने गरी राहत र ठोस योजना प्रस्तुत गर्न बैठकले माग गरेकाे छ। कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेस्टिङमा असाधारण ढिलासुस्ती भएको तीन दलले जनाएका छन्।
बैठकपछि जारी संयुक्त वक्तव्यमा कांग्रेस सभापति शेरबहादुर देउवा, जनता दलका तर्फबाट उपेन्द्र यादव, शरदसिंह भण्डारी र राप्रपाका तर्फबाट डा प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन्। नेपाली काग्रेसकाे पहलमा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन दलको बैठक बसेको हाे।

बैठकमा कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकमार गच्छदार, डा. शशांक कोइराला, पूर्णबहादुर खडका, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी सहभागी थिए। जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर, डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता डा. प्रकाशचन्द्र लोहनी सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।