काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको बैठकले मंगलबार सचिवालय कमिटी बैठक बोलाउने निष्कर्षमा पुगेको छ। सोमबार नेता नेपाल निवासमा बसेको बैठकले मंगलबार सचिवालय कमिटीको बैठक र लगत्तै स्थायी कमिटीको बैठक बोलाउने निष्कर्षमा पुगिएको बैठकमा सहभागी रघुजी पन्तले जानकारी दिए।
'पावर सेयरिङबारे केही छलफल भएको होइन। पछिल्लो घटनाक्रमका विषयमा छलफल भयो। अब अविलम्ब स्थायी कमिटी बैठक बोलाउने र सबै विषय स्थायी कमिटीमा छलफल हुन्छ। भोलिको सचिवालयले स्थायी कमिटी बैठकको मिति तोक्ने छ,' नेता रघुजी पन्तले भने, 'एक आपसमा खुलेर कुरा भयो। पार्टीको विवाद विस्तारै मत्थर हुँदै जान्छ।'
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेता ओली र नेपालबीच भेट भएलगत्तै कोटेश्वरमा छलफल सुरु भएको थियो।
बैठकमा नेपाल सहित भीम रावल,सुरेन्द्र पाण्डे,रघुजी पन्त थिए भने ओली समुहबाट इश्वर पोखरेल,प्रदीपकुमार ज्ञावली,शंकर पोखरेललगायत थिए। नेपालले आइतबार आफ्नो समूहका नेतालाई भेट गरेपछि सोमबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।
ओलीले नेता नेपाल भेट गरेपछि सोमबारै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनालबीच खुमलटारमा भेट भएको छ। भेटमा स्थायी कमिटी बैठक नबोलाइएको अवस्थामा के गर्ने भन्नेबारेमा छलफल भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।