काठमाडौं– चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले कार्यभार सम्हाल्न अझैं केही समय लाग्ने भएको छ। पाण्डेले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चीनका लागि नेपाली आवासीय राजदूतको पद तथा गोपनीयताको सपथ लिएइसके पनि कार्यभार सम्हाल्न भने पाएका छैनन्।
सपथसँगै चीनमा गएर आफ्नो कार्यभार सम्हाल्न पाण्डेलाई बाटो खुला भए पनि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धका कारण अझैं ढिलाइ हुने भएको हो। ‘अहिले प्लेन चलेको छैन,’ राजदूत पाण्डेले नेपाल लाइभसँग भने, ‘प्लेन चलेपछि जाने हो। प्लेन नचली जाने अवस्था छैन।’
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याले पनि उडान खुलेपछि मात्रै राजदूत चीन जाने बताए। उडान नहुँदा चीन जाने विकल्प नभएको उनले बताए। ‘उहाँले जाने तयारी गरिरहनु भएको छ, अनुकुल पर्न साथै जानुहुन्छ,’ पौड्यालले भने, ‘फ्लाइट मिल्नुपर्यो, त्यो अनुकुल मिल्नासाथ जानुहुन्छ।’
सरकारले यसअघिको निर्णयमा निरन्तरता दिँदै जेठ २ सम्म आन्तरिक र बाह्य हवाइ सेवा बन्द गर्ने निर्णय गरेको छ। कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले निर्णय गरेको थियो।
कोरोना संक्रमणको महामारी फैलिरहेका बेला चीन जस्तो देशमा राजदूत खाली हुनु र नयाँ राजदूत जान अझैं समय लाग्नु गम्भीर विषय भएको कूटनीतिक क्षेत्रकार जानकारहरुको भनाइ छ। यसले नेपालले चीनबाट कोरोना नियन्त्रणका लागि लिनसक्ने सहयोगमा समेत असर पर्ने उनीहरुको भनाइ छ।
कोरोना संक्रमणको सुरुवाती केन्द्रबिन्दु रहेको चीनले त्यसलाई नियन्त्रण गर्दै अहिले विश्वभर सहयोग प्रदान गरिरहेको छ। यो अवधिमा व्यावसायिक उडान स्थगित भएपनि उद्धार, कार्गो तथा आकस्मिक उडान भने जारी रहन्छन्। सरकाले चाहे विशेष व्यवस्था गरी राजदूतलाई चीन पठाउन सकिने भएपनि त्यसतर्फ सोच देखाएको छैन।
गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउँदै उनको ठाउँमा पाण्डेको नाम सिफारिस गरेको थियो। महामारीकाबीच सरकारले चीनबाट राजदूत फिर्ता बोलाएको भन्दै सरकारी निर्णयको आलोचना भएको थियो। सरकारको सिफारिसपछि संसदीय विशेष सुनुवाइ समितिले पाण्डेमाथि सुनुवाइ गर्दै गत चैत १० गते उनको नाम अनुमादेन गरेको थियो।
संसदीय सुनुवाइपछि पाण्डेको नाममा सहमतिका लागि चीन पठाइएको थियो। चीनले केही दिनअघि उनको नाममा अग्रिमो (सहमति) जनाएको छ। चीनको अग्रिमोपछि ५ बैसाखमा राष्ट्रपति भण्डारीले पाण्डेलाई चीनका लागि नेपालका आवासीय राजदूतमा नियुक्त गरेकी थिइन्।
अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्ध २ जेठपछि खुलेमा मात्रै नयाँ राजदूत चीन जाने तयारी गर्ने छन्। चीन जाने बित्तिकै कार्यभार सम्हाल्न कुनै बाधा नभए पनि द्विपक्षीय भेटघाट भने चिनियाँ राष्ट्रपति सी चिनफिङसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेपछि मात्रै हुनेछन्।
आकस्मिक अवस्थामा बाहेक अन्य अवस्थामा गएको एक/दुई महिनापछि मात्रै ओहोदाको प्रमाणपत्र बुझाउन नेपाली राजदूतले समय पाउने गरेका छन्। यस हिसाबले नेपाली राजदूत चीन गएर कूटनीतिक क्रियाकलापमा सक्रिय हुन कम्तीमा पनि डेढ महिना लाग्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।