सिओल-दक्षिण कोरियाबाट नेपाल बिदामा गएका नेपालीलाई गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरिया फर्काउने भएको छ।
बिदामा गएकाहरुले आफूहरुको भिसा अवधि समाप्त हुन लागेको भन्दै गुनासो गर्ने क्रम बढेपछि संघले विमान चार्टर गरि उनीहरुलाई कोरिया ल्याउन अनुमति दिन सरकारसँग अनुरोध गरेको थियो। एनआरएनए कोरियाको अनुरोधलाई स्वीकार गरि सरकारले आईतबार विमान चार्टरमार्फत् नेपालमा रहेका नेपालीलाई कोरिया फर्किन पाउने बाटो खुला गरेको संघका सचिव मनोज गौतमले जानकारी दिए।
नेपालमै भिसा सकिने र कोरिया प्रवेश गर्न नपाईने चिन्तामा रहेका नेपालीको समस्यालाई सरकारसँग पु¥याउन पहल गर्न भन्दै एनआरएनए कोरियाले मंगलबारदेखि उनीहरुको लगत लिन सुरु गरेको थियो।
संघमार्फत् आफूलाई पठाउन आग्रह गर्ने नेपालीको संख्या आईतबा बिहानसम्म १ हजार १ सय ४६ पुगेको संघका महासचिव विमल सुवेदीले जानकारी दिए। यसरी नेपालमा रोकिनेहरुमा व्यापारी, विद्यार्थीलगायत ईपिएस भिसाधारीहरु रहेको संघले जनाएको छ।
कोरिया आउन चाहने ७ सय ६७ जना नेपालीको नामावलीसहित बुधवार एनआरएनए कोरियाले सिओलस्थित नेपाली दूतावासमार्फत् अनुरोध पत्र पठाएको थियो। संघले सरकारले अनुमती दिएमा चार्टर विमानमार्फत् नेपालीहरुलाई कोरिया फर्काईने बताएको थियो।
संघको उक्त अनुरोधलाई दूतावासले परराष्ट्र मन्त्रालयमा बुधबार नै पठाएको थियो। यो सँगै नेपालमा रहेका एनआरएनए कोरियाका प्रतिनिधिहरु परराष्ट्र मन्त्रालयमा पुगि अनुरोध गरेको संघले जनाएको छ।
नेपालमा रोकिएका नेपालीलाई कोरिया ल्याईसकेपछि अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्ने जिम्मा एनआरएनए कोरिया लिन तयार भएको र उनीहरुलाई चार्टर विमानमार्फत् कोरिया ल्याउन बाटो खुलेकाले संघलाई चाहिने आवश्यक सहयोग दूतावासबाट हुने सिओलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामसिंह थापाले बताए।
जहाज चार्टर गरि नेपालीलाई कोरिया फर्काउन पाउने सरकारी अनुमति प्राप्त भएसँगै प्रकृया सुरु गरिएको एनआरएनए कोरियाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।