काठमाडौं- विश्व बैंकका नेपालस्थित राष्ट्रिय निर्देशक फारिस एच हदाद जेर्भोसले विश्वव्यापी अर्थतन्त्रमा आउँदा केही वर्षसम्म कोरोना भाइरस महामारीको प्रभाव दुर्भाग्यपूर्ण हुने बताएका छन्।
'विश्व, दक्षिण एसिया र नेपालमा चालू र आउँदा केही वर्षसम्म कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा उल्लेख्य अनुपातले कमी आउने छ। महामारीभन्दा पहिला दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने अपेक्षा गरिएको थियो,' उनले भने, 'तर कोभिड–१९ का कारणले क्षेत्रको वृद्धिदर सन् २०२० मा १.८ देखि २.८ प्रतिशतको बीचमा रहनेछ, यो विगत चालीस वर्षकै सर्वाधिक खराब वृद्धिदर हो । आर्थिक वर्ष २०२१ मा पनि दक्षिण एसियाको वृद्धिदर ३.७ देखि ४.२ प्रतिशतको मध्यम स्तरमा रहने अपेक्षा छ।'
नेपाल दुई ठूला छिमेकीहरूको बीचमा अवस्थित भएको र ती छिमेकीहरूको समेत वृद्धिदरमा कमी आउने कारणले नेपाल र यहाँको वृद्धिदरमा समेत त्यसको नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ। 'आर्थिक मन्दीका बारेमा चाखलाग्दो कुरा के छ भने हामी यो कोरोना भाइरसको महामारीबाट गुज्रिरहेका छौं,' उनले भने, 'यो अन्यभन्दा फरक छ। यो मन्दीमात्रै होइन, फरक प्रकारकै मन्दी हो। सामान्यतयाः मन्दीले लगानी र वस्तुको मागमा असर पार्छ।'
सामान्यतयाः मन्दीहरू मागद्वारा हाँकिएका हुने भए पनि विद्यमान मन्दी भने कोरोना भाइरसका कारणले गर्दा आपूर्तिद्वारा हाँकिएको उनको बुझाइ छ। 'अहिलेको अवस्थामा हामी माग कम हुनुका सट्टा आपूर्ति कम भएको अवस्था सामना गरिरहेका छौं,' उनले भने, 'यो मन्दीलाई अलग ढंगले बुझ्नाले अर्थतन्त्र र वद्धिलाई फरक ढंगले पुर्नर्जीवित गर्नका लागि अर्थव्यवस्थामा नयाँ र विशिष्ट साधनहरू प्रयोग गर्न सहयोग पुग्नेछ। यो संक्रासलाई अलग रूपमा बुझ्नाले देशहरूलाई आपूर्तिमा आएको कमीलाई रोकथाम गर्नका लागि आवश्यक प्रोत्साहन प्याकेज ल्याउन पनि मद्दत पुग्नेछ।'
विश्व बैंकका प्रक्षेपणअनुसार चालू आर्थिक वर्षमा नेपालको जिडिपीको वृद्धिदर १.५ देखि २.८ प्रतिशतको बीचमा रहने छ। यो नेपालका लागि विश्वका अन्य भागहरूजस्तै ठूलो प्रहार हो। विप्रेषणमा हुने प्रहारले सीधै नेपालको विदेशी विनियमयमा प्रभाव पार्नेछ। नेपालको रोजगारी तथा आप्रवासन, व्यापार तथा पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित हुनेछन्। आपूर्ति प्रणाली पारेको झट्का कारण कारण नेपालमा मुद्रास्फीतिदर ६ प्रतिशतभन्दा माथि रहने अपेक्षा विश्व बैंकले गरेको उनले बताए।
विश्व बैंक नेपालमा महामारीको सामना गर्न र अर्थव्यवस्थालाई पुनर्बहाली गर्नका लागि सरकारसँग मिलेर काम गरिरहको पनि उनले उल्लेख। विश्व बैंक आगामी वर्ष प्राथमिकताका आधारमा निकै काम गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्ने र पहिलो प्राथमिकता तत्काल स्वास्थ्यका लागि चाल्नु पर्ने कदम हुनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।