काठमाडौं- उदयपुरको मस्जिदमा रहेका जमातीहरुमा कारोना पोजेटिभ देखिएपछि अहिले देशभरका मस्जिद र मद्रसामा अनुगमन थालिएको छ। मुस्लिम आयोग आफैले समिति गठन गरेर स्थानीय प्रशासनसँगको सहकार्यमा अनुगमन थालेको हो। मंगलबार उपत्यकामा रहेका मस्जिदहरुमा अनुगमन गरिएको हो।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित मुस्लिम आयोगको टोलीले मंगलबार काठमाडौंको घण्टाघरस्थित मस्जिद र मद्रसामा अनुगमन गरेको हो। मस्जिदमा अनुगमनपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मस्जिदहरुमा जमातीहरु लुकेर बसेको आशंका जनमानसमा रहेकाले अनुगमन गरिएको बताए।
अनुगमनका क्रममा कोही पनि लुकेर बसेको नपाइएको बताएका उनले दुवै ठाउँमा चार/चार जना धर्मगुरु, तीनका सहयोगी दुई/दुई जना र दुई/दुई जना कर्मचारी गरी आठआठ जना मात्र रहेको पाइएको मेयर शाक्यले बताए।
कुनैपनि धार्मिक क्रियाकलापमा नियमित प्रक्रियालाई नरोक्ने तर भक्तजनलाई लकडाउनको अवस्थामा प्रवेश गर्न नदिन आग्रह गरेको पनि उनले बताए। कोही लुकेर बसेको अवस्था भएमा गृह प्रशासन तथा स्थानीय सरकारलाई जानकारी गराउन आग्रहसमेत उनले गरे।
मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारीले उदयपुर घटनापछि जनमानसमा पर्न गएको भ्रम चिर्नका लागि मुस्लिम आयोगले सर्वपक्षिय बैठकमार्फत अनुगमन समिति गठन गरी अनुगमन थालिएको बताए।
'हरेक मस्जिद र मद्रसामा अनुगमन गरी जनमानसमा फैलिएको भ्रम चिर्न खोजिएको हो। कुनैपनि मस्जिद वा मद्रसामा कोहीपनि लुकेर नबसेको र अझैपनि कोही छुटेको भए स्थानीय सरकारलाई जानकारी गराउन आयोगले समेत अपिल गरेको छ,' उनले भने।
उदयपुरको एक मस्जिदमा बस्दै आएका १३ जना जमातीहरुमा कोरोना भाइरस संक्रमण फेला परेपछि सरकारले देशभरका मस्जिदमा निगरानी बढाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।