भैरहवा–लकडाउनको समयमा कृषि उपज बिक्रीका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा कृषि एम्बुलेन्स सेवा सुरु भएको छ। प्रदेश ५ भूुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा मंगलबारदेखि भैरहवामा कृषि एम्बुलेन्स सुरु भएको हो।
कृषकले उत्पादन गरेका तरकारी अहिले त्यत्तिकै खेर गएको अवस्थामा कृषि मन्त्रालयसँग समन्वय तथा सहकार्य गरेर कृषकले उपलब्ध गराउने मूल्यमा नै उपभोक्तालाई तरकारी वितरण गरिएको जनउत्थान साकोसकी अध्यक्ष ज्ञानु पौड्यालले बताइन्। कृषकले उपलब्ध गराउने मूल्यमा जनउत्थानले सहजीकण गरेर टिकुलीगढ, पश्चिम अमुवा, मर्चवार, शुद्धोधनलगायत ग्रामीण क्षेत्रबाट ताजा हरियो तरकारी भैरहवा ल्याएर वितरण गरिने उनले बताइन्।
‘सिद्धार्थनगर नगरपालिका भारतीय सीमासँग जोडिएको र खुल्ला सिमाना भएका कारण भारतबाट तरकारी आइरहेको छ, यसले कोरोना भाइरसको जोखिम बढेको छ, कृषि एम्बुलेन्सले केही भए पनि विषादीयुक्त तरकारीको आयात रोकिन्छ,’ उनले भनिन्।
यो कार्यले उपभोक्ताले आफ्नै देश तथा आफ्नो ठाउँको तरकारी खान पाउने उनले बताइन्। ‘जनउत्थानले भैरहवामा पनि प्रत्येक टोलटोल तोकेको छ, टोलप्रमुखले स्थान र समय तोकेर भीड कम गरेर तरकारी उपलब्ध गराउनेछन्,’ उनले भनिन्।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले यहाँका उत्पादनले मूल्य नपाएको अवस्थामा अब कृषि एम्बुलेन्समार्फत् किसानले मूल्य पाउने र उपभोक्ताले सहज रुपमा कृषि उत्पादन पाउने बताइन्।
बाटोमा कही रोकटोक नहोस् र किसानको उत्पादन सहज रुपमा उपभोक्तामाझ पुगोस् भन्ने उद्देश्यले यो कार्यको थालनी गरेको उनले बताइन्। ‘किसानले मुस्किलले उत्पादन गरेका वस्तुसस्तोमा किनेर बढी मूल्यमा विक्री गर्ने प्रवृत्ति छ, यो रोक्न पनि कृषि एम्बुलेन्सले सहयोग गर्छ,’ उनले भनिन्। वितरण प्रणालीमा भैरहवामा जनउत्थान सहकारीले सहयोग गर्ने उनले बताइन । मिहिनेतले कृषकले उत्पादन गरेका उत्पादन उपभोक्तासमक्ष ल्याउन सहकारीको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ।
तरकारी खरीद गरेका उपभोक्ता ईञ्जिनियर जीवन अर्यालले सस्तोमा हरियो ताजा तरकारी उपलब्ध गराउने कार्य प्रशसंनीय भएको बताए ।
सिद्धार्थनगर नगरपालिका ८ स्थित अन्नपूर्ण टोलबाट एम्बुलेन्सको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शुभारम्भ गरिन्। शुभारम्भ कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी, वडा नम्बर ८ का अध्यक्ष राजनजंग राणा, जनउत्थान साकोसका कोषाध्यक्ष सरु राना, व्यवस्थापक रनबहादुर थापा लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।