एजेन्सी- यूनिभर्सिटी अफ एक्जेटरले ‘मल्टिप्लेक्स’ टेस्टको विकास गरेका छन्‚ जसले एकैपटकमा संक्रमणको बारेमा परीक्षण र एन्टिबडीको विवरण पाँच मिनेटमै देखाउँछ। अहिले यो किट परीक्षणको क्रममा रहेको बिबिसीले जनाएको छ।
एक्जेटर टिमले यसको परीक्षण लन्डनस्थित सेन्ट थोमस हस्पिटलबाट सुरू गरिसकेको छ। यदि यो परीक्षण सफल भयो भने‚ यसबाट परीक्षण गरेको ५ मिनेटमा संक्रमण भए/नभएको बारेमा जान्न सकिन्छ।
त्यसैगरी यूनिभर्सिटी अफ साउथ वेल्सका अनुसार त्यहाँका अनुसन्धाताहरूले कोरोना भाइरस टेस्टिङ किट विकास गरिरहेका छन्‚ जुन किटले आधा घण्टाभित्र कोरोनाको रिपोर्ट देखाउँछ। उक्त किटबाट आउने रिपोर्ट कत्तिको भरपर्दो छ भनेर जान्नका लागि अझै पनि परीक्षणकै चरणमा रहेको बताइएको छ।
यो र्यापिड डायग्नोस्टिक टेस्टमध्येकै एक हो। नोर्विच रिसर्च पार्कका वैज्ञानिकहरूले सबैभन्दा छिटो कसरी कोरोना परीक्षण गर्न सकिन्छ भन्ने अनुसन्धान गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।