विराटनगर– पूर्वी नेपालमा पछिल्लो २ सातायता चट्याङ लागेर मर्ने र घाइते हुनेको संख्या बढेको छ। उदयपुर, भोजपुर र झापामा १/१ गरी थप ३ जनाको मृत्यु भएको छ। योसँगै चट्याङ लागेर मर्नेको संख्या ७ र घाइते हुनेको संख्या १६ पुगेको छ।
मंगलबार साँझ उदयपुरको उदयपुरगढी गाउँपालिका ८ की ४८ वर्षीय कृष्णमाया तामाङको चट्याङ लागेर मृत्यु भएको छ। आफ्नै घरमा रहेकी मनमायाँको चट्याङ लागेर घट्नास्थलमै मृत्यु भएको थियो। उनकी भतिजी १५ वर्षीय सम्झना तामाङ घाइते भएकी छिन्। सम्झनाको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको प्रहरी चौकी उदयपुरगढीले जानाएको छ।
भोजपुरको षडानन्द नगरपालिका–२ भोटेछापकी २० वर्षीय मुना भट्टराई र झापाको केचनाकल गाउँपालिका–१ कुटीबजारका ५५ वर्षीय महेशलाल यादवको पनि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। राती ८÷९ बजेको समयमा वर्षासँगै परेको चट्याङ लागेर उनीहरु गम्भीर घाइते भएका थिए। उपचार गर्न लाने तयारीमै दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसअघि सोमबार मात्रै संखुवासभाको चिचिला गाउँपालिका–४ डाँडागाँउमा १६ वर्षीय सूर्य राईको चट्याङका कारण करेन्ट लागेर मृत्यु भएको थियो। चार्जमा राखेको मोबाइल चलाइरहेको बेला चट्याङ परेपछि उनलाई करेण्ट लागेको थियो।
एक साताअघि मोरङको ग्रामथान गाउँपालिका–५ गिधनियाका २२ वर्षीय पुरुषोत्तम माझी थारू, खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्मरबहादुर दाहाल र साकेला गाउँपालिका–२ का ५५ वर्षीय बालकुमारी खत्रीको चट्याङ लागेर मृत्यु भएको थियो।
चट्याङ लागेर खोटाङको साकेला–२ का ६५ वर्षीय प्रेमबहादुर खत्री, भोजपुरको आमचौक गाँउपालिका–४ कालिकोटेका ३६ वर्षीय लक्ष्मी विश्वकर्मा, छोरा १५ वर्षीय प्रकाश विश्वकर्मा र सोही ठाउँकी ५४ वर्षीय सीता शंकर, उदयपुरको कटारी नगरपालिका–१३ मोहनटारका ७० वर्षीय जलसरी राई, २५ वर्षीय सीता राई, १६ वर्षीय सबिना राई, ४० वर्षीय खेतबहादुर सुनुवार, १६ वर्षीय तारा कार्की र ४६ वर्षीय हिरामाया जोगी, भोजपुरको पौवादुम्मा गाउँपालिका–४ का ४० वर्षीय तारा घिमिरे, मोरङको लेटाङ नगरपालिका–७ का ३८ वर्षीय लालमाया लिम्बु, ६५ वर्षीय दिलमाया लिम्बु र ४५ वर्षीय नरबहादुर लिम्बु चट्याङ लागेर घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।